कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण विवाद अझै सुल्झेन

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार ०७८ सम्ममा निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन ।

७० करोड लागत रहेको आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टसँग २२ असार ०७६ मा सम्झौता गरिएको थियो ।

बाँके र बार्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा जग्गा प्राप्ति तथा रुख कटानमा समस्या देखिएकामा सो समस्या हल भए पनि बाँकेकै बैजनाथ गाउँपालिका– १ गाभर, बानियाँभारका स्थानीयवासीले आयोजनाको प्रसारणलाइन निर्माणमा अवरोध गरेपछि कामले गति लिन नपाएको हो । बाँकेमा मात्र ४२ महिनादेखि अवरोध कायम हुँदा काम हुन नसकेको आयोजनाले जनाएको छ ।

आयोजनाविरुद्ध गाभर, बानियाँभारका स्थानीयवासीले उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जमा रिट दायर गरेका थिए । अदालतले नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले आवश्यक मुआब्जा दिएर प्रसारणलाइन निर्माण रोक्न नहुने जनाउँदै रिट खारेज गरिदिएको थियो ।

गाभरमा ६ वटा, बानियाँभारमा तीनवटा गरेर नौवटा टावर निर्माण हुन बाँकी रहेको छ । उक्त टावरहरू निर्माणस्थलका स्थानीयवासीसँग मुआब्जा दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले चलनचल्तीको सरकारी दरमा मुआब्जा दिनका लागि समन्वय, सहकार्य गरी गाभरमा समस्या समाधान भएको छ । बानियाँभारमा भने अझै समस्या भएको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दुनै ठाउँमा समस्या समाधान नजिक रहेको बताए । अवरोध भएमा त्यसको हल प्रशासनले गर्नेसमेत उनको भनाइ छ । आयोजना प्रमुख चौधरीका अनुसार बानियाँभारमा केही अवरोध भएको र तोकिएको मुआब्जा दिन तयार भएको छ ।

आयोजना प्रमुख चौधरीका अनुसार टावर निर्माण गरिएको क्षेत्रमा जग्गाको मूल्य २५, २८ र ३२ लाख निर्धारण गरिएको छ । बाँकेको कोहलपुरदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित सुब्बाकुना सबस्टेसनसम्मको प्रसारणलाइनको दूरी ५२ किलोमिटर छ । कोहलपुर–सुर्खेत सम्म १६१ वटा टावर रहेका छन् ।

आयोजनाले अहिलेसम्ममा सुर्खेत खण्डमा ३२ किलाेमिटर क्षेत्रमा टावर निर्माण सकेर तार तानिसकेको छ । हर्रे–छिन्चु–सुब्बाकुना र कोहलपुर–चिसापानीसम्म विवादबाहेकका क्षेत्रमा टावर निर्माण भई तार तान्ने काम सम्पन्न भएको प्रमुख चौधरीले बताए ।

चौध किलाेमिटर हर्रे–बबई–चिसापानी क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेको छ । यो क्षेत्रमा रुख कटानको अनुमति पाएलगत्तै धमाधम रुख कटान र टावर निर्माणको काम जारी छ ।

अबको दुई महिनाभित्र रुख कटानको काम पूरा हुने लक्ष्य राखिएको छ । निकुञ्जमा ७० वटा टावरमध्ये ६ वटा टावर निर्माण गर्न बाँकी रहेको छ । जेठसम्ममा वीरेन्द्रनगरमा रहेको सबस्टेसनमा विद्युत् चार्ज गर्ने गरी कामलाई तीव्रता दिइएको प्रमुख चौधरीले बताए ।

आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएकोसमेत उनले बताए । सुर्खेतमा ०४५ सालमा निर्माण भएका संरचनाबाट हालसम्ममा विद्युत् प्रसारण भइरहेको छ । अहिले ३३ केभी प्रसारणलाइनको विद्युत् सुर्खेतलगायत कर्णालीका जिल्लामा सञ्चालनमा रहेको छ । सोही कारणले विद्युत् अनियमितता हुनुका साथै लो भोल्टेजका कारण काम गर्नसमेत समस्या हुँदै आएको छ ।

सुझावित समाचार