सुदूरपश्चिममा तीन दिनसम्म मनाइँदै भुवा पर्व

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्वको रौनक सुरु भएको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङलगायत पहाडी जिल्लामा मनाइने यो पर्व पुसेऔँसीको अघिल्लो दिन सुरु हुन्छ ।

द्वापरयुगमा पाण्डवले कौरवमाथि विजय हासिल गरेपछि खुसियाली मनाएको दिनलाई स्मरण गर्दै भुवा खेल्ने गरिन्छ । यो खेलमा परम्परागत पहिरन लगाएर ढाल र तरबार नचाएर युद्धकौशल प्रदर्शन गरिन्छ । सुदूरपश्चिममा यो पर्व तीन दिनसम्म उत्सवका रूपमा मनाइन्छ ।

यतिवेला सुदूरपश्चिमका पहाडी जिल्लामा भुवाको रौनक छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट कैलाली, कञ्चनपुरमा बसाइँसराइ गरी आएकाहरूले पनि पछिल्ला वर्षहरूमा तराईमा भुवा पर्व मनाउन थालेका छन् । धनगढीको खुलामञ्चमा पनि भुवा पर्व मनाउन सुरु भएको छ । बाजुरेली सेवा समाजको आयोजनामा खुलामञ्चमा तीन दिनसम्म भुवा खेलेर भुवा पर्व मनाउन लागिएको हो । बाजुराबाट बसाइँ सरी आएकाहरूको अगुवाइमा केही वर्षयता खुलामञ्चमा भुवा पर्व मनाउँदै आएको समाजका सचिव भरत केसीले बताए । भुवा प्रदर्शनीसँगै भुवा खेल प्रतियोगितासमेत सञ्चालन हुने उनले बताए ।

भुवा खेल्ने पुरुषले टाउकोमा पगरी, सेतो भोटो, जामा तथा कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युँमा एउटा सेतो चादरजस्तो पहिरन लगाउँछन् । कतिपयले भने परम्परागत पोसाकविनै पनि भुवा खेल्छन् । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको भुवा खेलमा दमाहाको तालमा ढाल र तरबारले युद्धकला प्रदर्शन गर्ने गरिएको भुवा पर्वका जानकारी बजिरसिंह धामी बताउँछन् । उनका अनुसार युद्ध कौशलता प्रदर्शन गरिने भुवा खेल प्राचीनकालीन युद्धको भाका पनि हो । महाभारतकालदेखि मनाइँदै आएको यो पर्व पाण्डवको जितको खुसियालीस्वरूप मनाउने गरिएको उनले बताए ।

सुझावित समाचार