जस्ट फ्युचर्स पहल संस्थाले ६ जना प्रतिभाशाली दलित महिलालाई दामल फेलोसिप–२०२५ को घोषणा गरेको छ। अन्जना बिशंखे, अस्मिता माझी, ककुन्ती रविदास, मधु महरा, सीता बौडेल र सीमा बैठालाई यस्तो फेलोसिप दिने निर्णय भएको संस्थाले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएको छ।
यस फेलोसिपबाटजात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे गहन समालोचनात्मक बुझाइका साथै लिखित र गैरलिखित नयाँ सिर्जनाहरू गर्ने उद्देश्य संस्थाले राखेको छ ।
१९१० सालको मुलुकी ऐनअनुसार वर्ण–जात र लिंगका आधारमा दिइने सजाय ‘दामल’ शब्दको गहिरो ऐतिहासिक महत्वलाई ध्यानमा राखेर यस फेलोसिपको नामकरण गरिएको हो । नेपालभित्र र बाहिर न्याय, समता, सम्मान, समावेशी लोकतन्त्र, दिगो भविष्यबारे नयाँ भाष्यहरू निर्माण गर्ने लक्ष्य फेलाोसिपको छ ।
मधेश प्रदेशमा चलाइएको जस्ट फ्युचर्स फेलोसिप र राष्ट्रिय स्तरमा संचालन गरिएको जेएफपी फ्याकल्टी सेमिनारका सहभागीहरुबिच जेएफपीले गरेको आह्वान अनुसार आवेदन दिएका १२ जनामध्ये ६ जनालाई सो फेलोसिप प्राप्त गरेका हुन्।
फेलोसिप नौ महिनाको हुनेछ। संस्थाको बिज्ञप्तीमा भनिएको छ,‘विभिन्न अनुभव र उमेर समूहबीच अन्तरपुस्ता र अन्तर विषयको सह–सिकाइमा आधारित यस फेलोसिप नौ महिनाका लागि प्रदान गरिनेछ, जसअन्तर्गत भौतिक उपस्थितिमा कक्षा, छलफल, संवादमार्फत् गहन लेखन तथा रचनात्मक कार्य गर्न प्रेरित गरिनेछ । यसका लागि विशेष खालको पाठ्यक्रमको निर्माणसँगै फेलो–केन्द्रित शिक्षण विधि–प्रक्रिया अँगालिने छ।’
यस फेलोसिपमा शैलजा पाइक, सरिता परियार, लुशिंदा र्याम्बर्ग, उमा चक्रवर्ती, त्रिरत्न मानन्धर र आना स्टरलगायतका अन्य चिन्तक र बौद्धिकहरूको विशेष सहभागिता रहने जस्ट फ्युचर्स पहलकी कार्यकारी निर्दशक सोना खटिकले जानकारी दिइन्।