पाकेर बजार लिन तयार भएको सुन्तलामा कालो ढुसी रोग लागेपछि सल्यानका किसान चिन्तित भएका छन्। पहेँलपुर भएर पाकेको सुन्तलामा कालो ढुसी लागेर सुन्तला र बोट नै सुक्न थालेपछि किसान किसान चिन्तित भएका हुन्।
आफ्ना ३०० सुन्तलाका बोटमध्ये ५० बोटमा कालो ढुसी रोग लागेकाले बोट, फल र पातमा असर गरेको छत्रेश्वरी गाउँपालिका- २, दहखोलाका किसान टीकाराम बुढाले बताए। रोगका कारण पाकेका सुन्तला झर्न थालेको उनको दु:खेसो रहेको छ।
७ रोपनीमा सुन्तला खेती गर्दै आएका बुढाको बगैँचामा गत भदौ महिनादेखि कालो ढुसी लागेको र ओैषधि गरेको, तर नियन्त्रण नभएको र सरोकारलवाला निकायले सुन्तला व्यावसायिक किसानको समस्या समाधान गर्न पहल गरिदिन आग्रह गरे।
अर्का किसान लोकबहादुर विकले सुन्तला बिक्री गर्ने समयमा कालो ढुसीका कारणले १० बोट सुकेको बताए। बुढेसकालको सहारा नै सुन्तलाको बगैँचा थियोे। फलमा कालो ढुसीले दैनिक असर गर्न थालेपछि बोट नै सुकेको उनले गुनासो गरे। छत्रेश्वरी- २ वडाका अधिकांश किसानहरूको सुन्तला बगैँचामा कालो ढुसी लागेको पाइएको छ। यो समय फल टिप्ने समय भएको र विषादी प्रयोग गर्न नमिल्ने भएकोले किसानले फल टिपेर बिक्री-वितरण गर्न कृषि विकास कार्यालय सल्यानले किसानलाई सुझाव दिएको छ।
कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख महेश आचार्यले घाम कम लाग्ने तथा ओसिलो क्षेत्रमा कालो ढुसीको समस्या देखिने भएकोले ढुसी नियन्त्रणको लागि फल टिपिसकेपछि विषादी प्रयोग गर्नुपर्ने बताए। ढुसीले फलको बाहिरी भागमा मात्रै असर हुने भएकोले तत्काल फल टिपेर बिक्री-वितरण गर्न पनि किसानलाई अनुरोध गरे।
किसानको समस्याको बारेमा फल टिपेर बगैँचा खाली भएपछि वडाको दहखोलामा पाठशाला नै सञ्चालन गरी रोग नियन्त्रण गर्न बगैँचामा प्राविधिकसहित जाने कार्ययोजना रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिएका छन्।