दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये दुईजना महिलाको जीवितै उद्धार गरिएको थियो । उनीहरू एकजना चालक दलका सदस्य र एकजना यात्रु हुन् ।
दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए । उनीहरूको उपचार मोकपो अस्पतालमा भइरहेको छ । उनीहरूबाहेक अरू कोही पनि जीवित फेला नपरेको अधिकारीहरूलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले जनाएको छ ।
थाइल्यान्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुईजना थाइल्यान्डका र अरू सबै दक्षिण कोरियाका थिए ।
विमान दुर्घटनाको कारण खुलिसकेको छैन । तर, विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।