कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई ३ प्रश्न

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

हरेक वर्ष किसानलाई रासायनिक मलको अभाव किन हुन्छ ?
पहिलेपहिलेजस्तो हाहाकार यसपालि देखिएको छैन । तैपनि, यो प्रदेशको यो पालिकाको यो वडामा मलको अभाव भयो भनेर हामीलाई सूचना दिइयो भने हामी तत्काल त्यहाँ मल पठाउने व्यवस्था मिलाउँछौँ । हामीसित गोदाममा पर्याप्त मलको मौज्दात छ । हामीले प्रदेशले माग गरेबमोजिम कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङमार्फत मल पठाइसकेका छौँ । त्यसैले, किसानलाई मलको अभाव हुँदैन । वितरणमा देखिएको समस्याका कारण कतै अभाव छ भने पनि त्यहाँ उपलब्ध गराउन मन्त्रालय तयारी अवस्थामा छ । 

वितरणमा कस्ता समस्या देखिएका छन् त ?   
स्थानीय पालिकाका वडाले माग गरेबमोजिम प्रदेशमार्फत पालिकामा मल जान्छ । पालिकाले वडालाई पठाउँछ र वडाले सहकारीमार्फत किसानसम्म वितरण गर्छ । वडाले माग गरेको मल सहकारीले समयमै लगिदिएन भने किसानले मल नपाउन सक्छन् । त्यसैले, किसानले मल पाउनु र नपाउनुमा स्थानीय सहकारीहरूको ठुलो भूमिका छ । उनीहरू सक्रिय भइदिने हो समयमै मल ढुवानी गरिदिने हो भने किसानलाई मल अभाव हुँदैन ।  

भविष्यमा यस्तो समस्या दोहोरिनै नदिने अवस्था सिर्जना गर्न सकिन्न ?
हाम्रो नेपाली कृषि क्षेत्रका मागअनुसार पर्याप्त मल आयात गर्न हामीसित बजेटको अभाव छ । हामीसित भएको अनुदानको बजेटले करिब चार लाख मेट्रिक टन मल मात्र खरिद गर्न सकिन्छ । करिब साढे सात लाख मेट्रिक टन मल खरिद गर्न सकियो भने हाम्रो बजारको माग लगभग सम्बोधन गर्न सकिन्छ । त्यस्तोमा मल अभाव भयो भन्ने सुन्नुपर्दैन । अन्यथा, बजेट अभावकै कारण कुनै न कुनै समयमा मलको अभाव देखिन सक्छ । 

सुझावित समाचार