किंग्स र ग्रेट हिमालयको लगातार जित

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

किंग्स क्रिकेट एकेडेमी र ग्रेट हिमालय क्रिकेट एकेडेमीले तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टिटेन प्रतियोगितामा लगातार दोस्रो जित निकालेका छन् । शनिबार सम्पन्न सातवटा खेलहरूमा नवज्योति युथ परिवार, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, सानो स्वर्ग नेपाल, बिएसडी, क्रिकेट एक्सिलेन्स सेन्टर र किंग्स क्रिकेट एकेडेमी विजयी भएका छन् । 

पहिलो खेलमा समूह ‘ए’अन्तर्गत नवज्योति युथ परिवारले दोस्रो जित दर्ता गर्ने क्रममा हसनटार युथ क्लबलाई २६ रनले पराजित गर्यो । ९१ रनको लक्ष्य पछ्याएको हसनटारले १० ओभरमा ६४ रनमा सबै विकेट गुमाउन पुग्यो । विज्ञान गौतमले चार विकेट लिए । दोस्रो खेलमा समूह ‘डी’अन्तर्गत ग्रेट हिमालयन क्रिकेट एकेडेमीले थानकोट वारियर्सलाई २० रनले पराजित गर्यो । ५९ रनको लक्ष्य पछ्याएको थानकोटले ३८ रनमा सबै विकेट गुमायो । प्लेयर अफ दी म्याच घोषित ग्रेट हिमालयका क्रिस कार्कीले दुई विकेट लिनुको साथै १५ रन पनि बनाए । 

तेस्रो खेलमा समूह ‘डी’अन्तर्गत सानो स्वर्ग नेपालले पञ्चायन युथ क्लबलाई दुई विकेटले पराजित गर्यो । ७३ रनको लक्ष्य पछ्याएको पञ्चायनले अन्तिम बलमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्यो । प्लेयर अफ दी म्याच घोषित धीरजले तीन विकेट लिनुको साथै २५ रन पनि बनाए । चौथो खेलमा समूह ‘सी’अन्तर्गत बिडिएसले कालिका वारियर्सलाई ३९ रनले पराजित गर्यो । ७८ रनको लक्ष्य पछ्याउने क्रममा कालिकाले ३८ रनमा सम्पूर्ण विकेट गुमायो । प्लेयर अफ दी म्याच घोषित रवि शाहले ३१ रन बनाए । 

पाँचौँ खेलमा समूह ‘डी’अन्तर्गत ग्रेट हिमालय क्रिकेट एकेडेमीले लगातार दोस्रो जित दर्ता गर्ने क्रममा सानो स्वर्ग नेपाललाई ७२ रनले पराजित गर्यो । ९२ रनको लक्ष्य पछाएको सानो स्वर्गले १९ रनमा सबै विकेट गुमायो । प्लेयर अफ दी म्याच घोषित सक्षम बस्ताकोटीले ३७ रन बनाए । छैटौँ खेलमा समूह ‘ए’अन्तर्गत क्रिकेट एक्सिलेन्स सेन्टरले (सिइसी)ले नवज्योति युवा क्लबलाई सात विकेटले पराजित गर्यो । ४१ रनको लक्ष्य पाएको क्रिकेट एक्सिलेन्स सेन्टरले ४.२ ओभरमा विकेट नगुमाई लक्ष्य पूरा गर्यो । 

प्लेयर अफ दी म्याच घोषित अभिनाश बस्यालले ३ विकेट लिए । सातौँ खेलमा समूह ‘बी’अन्तर्गत किंग्स क्रिकेट एकेडेमीले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा टिम रेन्सुलाई १० रनले पराजित गर्यो । ६२ रनको लक्ष्य पछ्याएको रेन्सुले ५१ रन मात्र बनाउन सक्यो । प्लेयर अफ दी म्याच घोषित प्रसिद्ध श्रेष्ठले १३ रन बनाउनुको साथै एक विकेट पनि लिए । जितपछि किंग्सले समूह ‘बि’ क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । प्रतियोगिताअन्तर्गत आइतबार तेस्रो दिन लिग चरणका सातवटा खेल हुनेछन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही पाँच हजार नगदबाट पुरस्कृत गरिनेछ ।

See More On

सुझावित समाचार