नेपाल पत्रकार महासंघ मुगु शाखाले जिल्लामा कृयाशिल दुई अग्रज पत्रकारलाई सम्मान गरेको छ। नवनिर्वाचित जिल्ला शाखाको प्रथम बैठकले जिल्लामा लामो समयदेखि कृयाशिल पत्रकार एवं महासंघ शाखाका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र निवर्तमान अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई सम्मान गरेको हो।
विनोद रेडियो नेपालमा मुगु समाचारदाताका रुपमा विगत २६ वर्षदेखि जिल्लामा कृयाशिल छन् भने नृपेन्द्र विगत २१ वर्षदेखि राष्ट्रिय समाचार समितिलगायतका संचारमाध्यममा आवद्ध रही पत्रकारिता गर्दै आएका छन्।
विनोद कुमार मल्ल २०६२ सालमा नेपाल पत्रकार महासंघ मुगु तदर्थ समिति गठन हुँदा संस्थापक अध्यक्ष थिए। नवनिर्वाचित जिल्ला शाखाको पहिलो बैठकले दुर्गम जिल्ला मुगुमा पत्रकारिता सिकाउँदै जग बसाएकोमा उनलाई जिल्लाकै वरिष्ठ पत्रकारको रुपमा सम्मान गरेको हो।
अर्का पत्रकार नृपेन्द्र बहादुर मल्ललाई दुई पटकसम्म मुगु शाखाको अध्यक्ष भएर कुशल, समावेशी र समन्वयात्मक भूमिका निर्वाह गरी शाखा र कृयाशिल पत्रकारको शिर उँचो बनाउन योगदान गरेकोमा सम्मान गरिएको जिल्ला शाखाका सचिव नन्दबहादुर रोकायाले बताए।
सम्मानित हुने दुवै अग्रज पत्रकारलाई शाखाका अध्यक्ष अच्युतराज भण्डारीले सम्मानपत्रसहित खादा लगाइदिएर सम्मान गरेका थिए।
बैठकले मुगु शाखाका निवर्तमान उपाध्यक्ष सुमित्रा रावल र केन्द्रीय परिषद् प्रतिनिधि विमल हमाललाई नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सदस्य निर्वाचित भएकोमा बधाइ समेत दिएको छ।