किशोरकिशोरी र युवाहरू अनलाइनमार्फत हिंसाको उच्च जोखिममा

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

अनलाइनमार्फत हुने विभिन्न क्रियाकलापबाट किशोरकिशोरी र युवाहरूमा हिंसाको जोखिम बढ्दै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अनलाइनमा बालबालिका र युवाको सुरक्षामा कार्यरत चाइल्डसेफनेटले गरेको ‘रोमान्सदेखि जोखिमसम्म : किशोरकिशोरी र युवा व्यक्तिहरूमाथि अनलाइन अन्तरंग सम्बन्ध हिंसा’ नामक अध्ययन प्रतिवेदनले हिंसाको जोखिम बढिरहेको देखाएको हो । 

सेक्सुअल भाइलेन्स रिसर्च एन्सिएटिभसँगको सहकार्यमा गरिएको अध्ययनले नेपालमा बढ्दो अनलाइन अन्तरंग सम्बन्धले हिंसा बढाइरहेको देखाएको हो ।  अध्ययनले यस्ता हिंसाको प्रवृत्ति, स्वरूप र प्रविधिको दुरुपयोग कसरी भइरहेको छ भन्ने विषयमा विस्तृत अध्ययन गरेको हो । 

अध्ययनले अनलाइनमार्फत नियन्त्रण गर्ने उद्देश्यले गरिने व्यवहार,  हानि पुर्याउने उद्देश्यले अनलाइनमा पछ्याउने, दबाब दिने र भावनात्मक दुर्व्यवहार गरिने र हिंसात्मक गतिविधिहरूमा संलग्न हुनेको संख्यासमेत अत्यधिक भइरहेको देखाएको हो । 

अध्ययनले नेपालका सातै प्रदेशका दश जिल्लाबाट १६ देखि २४ वर्षका ४,५०१ किशोरकिशोरी र युवा व्यक्तिहरूबाट जानकारी संकलन गरेको थियो । यसले डिजिटल प्लाटफर्मको दुरुपयोगबाट भएका हिंसासँग सम्बन्धित जोखिमहरू, सुरक्षात्मक अभ्यासहरू र प्रणालीगत कमजोरीहरूमा अध्ययन गरेको थियो ।

अध्ययनमा संलग्नहरूमध्ये ४०.५ प्रतिशत सहभागीहरूले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरंग सम्बन्ध बनाएको बताएका थिए ।  अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन विभिन्न खालको हिंसा भएको बताएका थिए ।

यसबाहेक अनलाइनमार्फत भएको चिनजानमा ११ प्रतिशत सहभागीहरूले वयस्क र नाबालिगबिचको सम्बन्ध रहेको जनाएका थिए । जसमध्ये सुनसरी जिल्लामा उच्चतम अनलाइन हिंसा भएको अध्ययनले देखाएको हो । अध्ययनमा सहभागीमध्ये सुनसरी जिल्लाका ३८ प्रतिशतले आफूमाथि अनलाइन हिंसा भएको जानकारी गराएका थिए । 

किशोरकिशोरीहरू बढी जोखिममा रहेको र विशेष गरी लामो सम्बन्धको तुलनामा ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरूमा पार्टनरबाटै हिंसाको उच्च जोखिममा रहेको अध्ययनले देखाएको हो । 

अनलाइनबाट सम्बन्ध स्थापित भएका किशोरकिशोरीहरूमा हिंसाको निरन्तरता देखिएकोसमेत बताएका थिए । अध्ययनका ४६ प्रतिशत सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका हिंसाको सामना गरेको बताएका हुन् । यौनिक अल्पसंख्यक समुदायका युवाहरूले विशेष रूपमा अनलाइन डेटिङ एपहरू चलाउने गरेको कारण जोखिममा पर्ने गरेकसमेत अध्ययनले देखाएको छ ।

बढ्दो अनलाइन हिंसाबारे चाइन्डसेफ नेटका अध्यक्ष  अनिल रघुवंशी भन्छन्, ‘नेपाली कानुनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई मान्यता दिँदैन । त्यसकारण, सरकारले अविवाहित जोडीहरूमा हुने अनलाइन अन्तरंग साझेदार हिंसालाई सम्बोधन गर्न आवश्यक नीति र कानुन बनाएको पाइएको छैन । जसका कारण किशोरकिशोरीहरू बढी प्रभावित भइरहेका छन्। 

यस्तै, अनलाइन हिंसाको समस्यालाई सम्बोधन गर्न सरकार र नागरिक समाज संगठनहरूको सहकार्य आवश्यक रहेको राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँ बताउँछन् । 

अध्ययनले पीडितलाई उल्टै दोष दिने प्रवृत्ति, पीडितकेन्द्रित दृष्टिकोण र सहायताको अभाव र अपर्याप्त तथा फितलो कानुनी संरचनालगायतका प्रणालीगत कमजोरीहरू उजागर गरेको छ । यसले बहुक्षेत्रीय जिम्मेवार निकायहरू र सरोकारवालाहरूलाई किशोरकिशोरी र युवाहरूलाई अनलाइन हिंसाबाट सुरक्षित राख्नका लागि आ–आफ्ना भूमिका निर्वाह गर्नसमेत आग्रह गरेको छ । हिंसा न्यूनीकरणका लागि शिक्षा, चेतना अभियानहरू, नीतिगत सुधारहरू र बलियो कानुनी संरचनाहरूको साथै अभिभावक र विद्यालयहरूले अनलाइन सुरक्षाका लागि प्रभावकारी काम गर्नुपर्ने अध्ययनले जनाएको हो । 

सुझावित समाचार