बागमती प्रदेशको राजधानी हेटौँडामा जारी दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा दोलखा र सिन्धुलीले विजयी सुरुवात गरेका छन्। हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा बिहीबार सम्पन्न दुई खेलमा दोलखाले नुवाकोटलाई र सिन्धुलीले भक्तपुरलाई पराजित गरेका हुन् ।
बिहीबारको पहिलो खेलमा दोलखाको टाइगर टिमले नुवाकोटको बटार युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दोलखाको जितको लागि सुजन माझी र संग्राम श्रेष्ठले गोल गरेका हुन् । नुवाकोटका तर्फबाट किशोर पण्डितले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।
प्रतियोगिताअन्तर्गत बिहीबार नै भएको दोस्रो खेलमा सिन्धुलीको ब्लु अल्पलाइन क्लबले भक्तपुरको थिमि युथ क्लबलाई ३–० गोल अन्तरले हराएको छ । सिन्धुलीको जितमा सञ्जीव धामी, समीर धामी र रवि महतराले गोल गरे । सिन्धुलीका तर्फबाट दुई गोल खेलको पहिलो हाफ र थप एक गोल दोस्रो हाफमा भएको थियो । बिहीबारको जितसँगै दोलखा र सिन्धुलीले ३-३ अंक पाएका छन् । यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौंले ३–० गोल अन्तरले काभ्रेलाई पराजित गरेको थियो ।
प्रतियोगिताअन्तर्गत शुक्रबार पनि दुई खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो खेल धादिङको धुनीबेँसी युवा समाज र मकवानपुरको पदमपोखरी युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल काभ्रेको माउन्ट एभरेस्ट एफसी र चितवनको भक्तपुर फुटबल क्लबबिच हुनेछ । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः दुई लाख र एक लाख रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।