संस्कृति संरक्षणमा सल्यानका विद्यालय

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

आधुनिकताले छपक्कै छाेपेको नेपाली समाजमा पुराना, कला, संस्कृति र परम्परा ओझेल पर्दै जान थालेका छन् । मुख्यगरी अधिकांश क्षेत्रका युवापुस्ता नै आफ्नो कला, संस्कृति र परम्परा संरक्षणमा उदासीन देखिन्छन् । तर, पछिल्लो समय मौलिक संस्कृति लोप हुने अवस्था सिर्जना भएको भन्दै सल्यानका विद्यालयहरूले भने चासो देखाउन थालेका छन् । 

जिल्लाका झन्डै एक दर्जन सामुदायिक विद्यालयले पूरा संस्कृति संरक्षण गर्न अभियान नै थालेका छन् । विशेषगरी मयुर नाच संरक्षणतर्फ विद्यालयले पहल थालेका छन् । यसले परम्परागत लोकसंस्कृतिको संरक्षण मात्र नभई आम्दानीको स्रोतसमेत बन्न थालेको सूर्यप्रकाश आधारभूत विद्यालय बागचौर नगरपालिका– ९ कुइयापानीका शिक्षक चेतबहादुर बुढाथोकीले बताए ।

साना विद्यार्थीलाई पुराना संस्कृतिबारे जानकारी गराउँदै उक्त संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिपरेको उनको भनाइ छ । उनले भने, ‘मयुर नाचको संरक्षण गर्न थालेपछि चाडपर्व, मेलापात, विवाह तथा व्रतबन्धजस्ता कार्यमा समेत आजभोलि बोलाउने  गरेका छन् जसबाट संस्कृतिको संरक्षण हुनुका साथै विद्यालयको खातामा आम्दानी पनि बढ्न थालेको छ ।’ 

बुढापाकाबाट पुराना संस्कृतिको हस्तान्तरण नभई लोपोन्मुख हुन थालेपछि विद्यालयले संरक्षणमा हात अघि बढाउनुपर्छ भने मयुर नाचको संरक्षण गरिरहेको जनज्योति माध्यमिक विद्यालय दार्मा गाउँपालिका– ३  फारुलाचौरका शिक्षक शिम हमालले बताए । युवा पुस्ताले  परम्परागत संस्कृतिको संरक्षणमा चासो र चिन्ता जाओस् भन्ने मुख्य उद्देश्य यसको रहेको उनको भनाइ छ । उनले भने, ‘अघिल्लो पुस्ताले गाउँ र नाच्ने यी पुराना संस्कार संरक्षण नहुँदा पछिल्लो समय लोप हुँदै गएको थियो । अहिले युवाहरू मिलेर संरक्षण अभियान सञ्चालन गरिएको छ ।’ 

पुरानो लोप हुँदै गएको मयुर नाच सिक्न र सबैलाई  देखाउन पाउँदा निकै रमाइलो लाग्ने गरेको सूर्यप्रकाश आधारभूत विद्यालयमा अध्ययनरत छात्र सुशील ओलीको भनाइ छ । 
परापूर्वकालदेखि लठ्ठी खेल्ने अर्थात् हाता खेल्ने प्रचलन थियो भने पछि गएर यही नाच एउटै सुरताल अनि एकै प्रकारको लयमा नाच्ने मयुर नाच बन्न पुग्यो ।

मयुर नाच पाउमा नियोर र हातमा लठ्ठी लिएर नाच्ने गरिन्छ जसमा नाैजना पुरुष र नाैजना महिला गरी १८ जनाको समूह बनाएर नाच्ने गरिन्छ भने कुनै समूहमा बढीमा १२ जना पुरुष र १२ जना महिला गरी २४ जनाको समूह हुने गर्दछ । मादल, ट्याम्को, मुरली र क्यासिनोको धुनमा सुरु हुने मयुर नाचको महत्त्वपूर्ण बाजा मादल र ट्याम्कोलाई लिने गरिन्छ । 

समूह अगुवाले सिठ्ठीको माध्यमबाट निर्देश गर्ने यो नृत्य बाजाको धुनसँगै अगाडि बढ्ने गर्छ । मयुरको प्वाँखबाट निर्मित सामग्रीलाई गड्कासमेत भनिन्छ । चिटिक्क परेको ड्रेससँगै गड्का लगाएर नाच्दा साँच्चै नै मयुर नाचेजस्तो देखिन्छ मयुर नाच । जसमा मयुरजस्तै नाच्दै १ र १ हात गर्दै २२ हातसम्म नृत्य गर्दै नर्तक नर्तकीहरू पुग्छन् ।
 

सुझावित समाचार