तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिसनको (खुला आरोहण प्रतियोगिता) पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करण आयोजना हुने भएको छ । उक्त प्रतियोगिता युएस नेपाल क्लाइम्बर एसोसिएसन र नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो ।
युएस नेपाल क्लाइम्बर एसोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता आगामी जनवरी २९ र ३० तारिख (माघ १६ र १७ गते)का दिन हुनेछ। क्वली राउन्डको लागि उपयुक्त ठाउँ छिट्टै सार्वजनिक गर्ने र सेमिफाइनल र फाइनल बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा गरिने शेर्पाले बताए। उक्त प्रतियोगिता दुई चरणमा हुनेछ।
प्रतियोगिताको संयोजकसमेत रहेका संस्थापक अध्यक्ष शेर्पाले पर्वतारोहण खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित तेन्जिङ नोर्गे शेर्पाको नाममा उक्त प्रतियोगिता गर्न लागेको बताए। उनले यस प्रतियोगिताले आरोहण क्षेत्रमा रुचि राख्नेलाई अझ प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले अमेरिकामा पनि टप रोप एडिसन आयोजना गर्दै आएकाले नेपालमा पनि टप रोप एडिसन पहिलोपटक आयोजना गरिसकेकाले यसपटक दोस्रो एडिसनकाे पनि आफ्नै देश नेपालमा प्रतियोगिता गर्न लागेका छौँ, यसबाट साहसिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।’ साथै, गत वर्ष पहिलोपटक गरिएको उक्त प्रतियोगिता आयोजनाले युवाहरूमा राम्रो छाप परेको शेर्पाले सुनाए।
संस्थापक अध्यक्ष शेर्पाका अनुसार दुई दिनसम्म चल्ने प्रतियोगतामा पहिलो दिन क्वली राउन्ड र दोस्रो दिन सेमिफाइनल र फाइनल गरिनेछ। उनले भने, ‘प्रतियोगितामा भाग लिन ५ सय लाग्नेछ। सो प्रतियोगितामा १२ वर्षभन्दा माथिकाले सहभागिता जनाउन सक्नेछन्।’
कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्रता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको कार्यक्रमका सह संयोजक तथा नेपाल नेशनल माउन्टेन गाइड एशोसिएसनका महासचिव पिम्बा तेन्जिङ लामाले बताए । उनले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पाप्रति श्रदासुमन एवं श्रदानजली पनि हो ।’
आयोजकका अनुसार प्रतियोगितामा पुरुष र महिलाबिच छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार प्रदान गरिने छ । यसपटकको प्रतियोगितामा पुरुषतर्फबाट ४० देखि ४५ र महिलातर्फबाट २० देखि २५ जनाले सहभागिता जनाउनेछन् । त्यसैगरी पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषलाई क्रमशः ४५ हजार, ३५ हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।