बाजुराको खप्तड छेडेदह गाउँपालिकामा आयोजित पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि मष्टेश्वरी मावि डोगडीले हात पारेको छ । लगातार चौथोपटक रनिङ सिल्ड प्रतियोगिता आफ्नो पोल्टामा पार्दै मष्टेश्वरी मावि डोगडीले आफ्नो वर्चश्व कायम राखेको हो ।
पुस ६ गतेदेखि आयोजित प्रतियोगितामा १७ स्वर्ण, चार रजत र चार कांस्यसहित मष्टेश्वरी मावि विजेता भएको हो । खापरदेवस्थली मावि खातीगाउँ पाँच स्वर्ण, तीन रजत र तिन कांस्यसहित द्वितीय तथा दशरथ मावि आँटीचौर दुई स्वर्ण, सात रजत र दुई कांस्यसहित तेस्रो भएको छ ।
मालिका मावि गाँज्रामा सञ्चालित प्रतियोगिता त्यहाँका विव्यस अध्यक्ष रामबहादुर बुढाको अध्यक्षतामा भएकाे कार्यक्रम विद्यालयका शिक्षक लोकेन्द्रबहादुर बुढाले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभाका प्रदेश सभा सदस्य माननीय पदमबहादुर शाही, विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर रावत, गाउँपालिका उपाध्यक्ष विसुदेवी नाथ, गाउँपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत कृष्णराज जोशी रहेका थिए ।
उक्त प्रतियोगितामा पालिकाभरका मावि विद्यालयको सहभागिता रहेको थियो । मर्यादित, शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न भएको प्रमुख खेल प्रशिक्षक रामबहादुर रावतले बताएका छन् । मष्टेश्वरी मावि डोगडीले लगातार चौथोपटक सिल्ड जितेपछि पूरै डोगडी गाउँमा नै खुसियाली छाएको शिक्षक भक्तबहादुर बुढाले बताए।