प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

मंगलबार, ९ पुष, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविधि विषय, व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपत् व्यवस्थापन, शिक्षा, संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदान अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरूले पहल गरिरहेको र यसमा आबद्ध मुलुकहरूले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले कुनै दुई मुलुकबिच आपसी समस्या हुन सक्ने भए पनि त्यसको प्रतिकूल प्रभाव सार्कजस्ता क्षेत्रीय संगठनमा पर्न नहुने उल्लेख गर्दै नेपालले ‘सबैसँग मित्रता र छैन कसैसँग शत्रुता’ भन्ने भावनाका साथ सार्वभौम तथा स्वतन्त्र मुलुकका हिसाबले न्यायोचित राष्ट्रिय हितलाई ध्यानमा राखेर सम्बन्ध विस्तार र सहकार्य गर्दै आएको स्पष्ट गरे।

राजदूत हस्मीले आफूहरू पाकिस्तानामा सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर रहेको प्रधानमन्त्री ओलीलाई अवगत गराए। उनले आफूहरू आगामी दिनमा नेपालसँग विविध विषयमा थप सहकार्य गर्न इच्छुक रहेको बताए।

सुझावित समाचार