हाम्रो जिवनमा आधुनिकता बढेसँगै चिटिक्क र आकर्षक देखिने मेसिनले उत्पादित कागज र प्लाष्टिकको भोज पातको प्रयोग गर्न थालेका छौ । तर यहि आधुनिकताकै कारण हामीले रोग समेत निम्त्याउने गरेका छौ । कागज र प्लाष्टिकको परत राखेर बनाइएको पातमाथि तातो खाना राख्दा प्लाष्टिक कन्टामिनेट हुने र त्यसले क्यान्सरकै समेत जोखिम हुने भएकोले आधुनिकताकै कारण रोगी हुन सक्ने बुझ्न थालेपछि पुनः रुखका पातहरुबाट उत्पादित भोजपत्र विभिन्न विवाह,श्राद्ध,उपनयन लगायतका सभा समारोहमा प्रयोग हुन थालेको छ।
औरही नगरपालिका ४ शेर्हा टोल निवासी रुदल दास र उनको परिवार जंगलबाट ल्याएको पातबाट भोजपत्र बनाउन व्यस्त छन् । माग धेरै भएपछि उनलाई भोजपत्र बनाउन भ्याईनभ्याई छ । उनको टोलमा पहिले प्राय सवै घरमा भोजपत्र बनाउने गरिएपनि पछिल्लो केहि वर्षमा मांग घटेपछि टोलका सवैले भोजपत्र बनाउन छाडेर वैकल्पिक काम गर्न थालेका थिए । तर अहिले रुदलको आम्दानी देखेर अन्यहरु पनि पुनः भोजपत्र बनाउने सुरसार गर्दै गरेको रुदल बताउछन् ।
साझेदारी बनहरुमा पहिले मनग्यै पाउने मल्हान (घोइरला) को पात अहिले पुर्जा कटाएर शुल्क तिरी टिप्नु पर्ने भएपनि हाललाई सहज रुपमै पात उपलब्ध भैरहेको रुदल बताउछन । उनी थोरै शुल्क तिर्नु पर्ने र बनमा गएर पात टिप्नु पर्ने भएकोले घरको एकजना पातकै व्यवस्थापनमा समय खर्चिनु पर्ने बताउछन् । उनी प्राय पातको व्यवस्थापनमा जंगल गईरह्नु पर्दा घरमा उनकी श्रीमति र छोरीले समेत भोजपत्र बनाउन सघाउने गरेका छन् ।
राम्रो पातहरु भए एकदिनमा एक जनाले आठ सय देखि हजार भोजपत्र बनाउन सक्ने भएपनि राम्रो पात नभेटिए एकदिनमा चारसय देखि छ सयसम्म मात्र भोजपत्र बन्ने रुदलको भनाई छ । उनी यो राम्रो व्यवसाय भएको र माग अनुसारको मुल्य पाईने हुदा आफु पुनः यस व्यवसायमा फर्केको बताउँछन्।
महोत्तरीमा रहेका गढन्ता साझेदारी बन,टुटेश्वर साझेदारी बन र बाँके मरहा साझेदारी बनमा सहजै उपलब्ध हुने मल्हानको पात रुदल लगायतका विभिन्न व्यवसायीहरुले शुल्क तिरी किन्ने गरेका छन । टुटेश्वर साझेदारी बनका अध्यक्ष विनय झाले आफ्नो बनमा मल्हानसंगै सखुवाको पातको समेत माग आउने गरेको बताउछन । उनी भोजपत्र बनाउन मल्हानको पात जस्तै सखुवाको पात समेत उत्तम हुने भएकोले मांग आउने गरेको बताउछन् । बर्दिवास,गौशाला लगायतका क्षेत्रका भोजपत्र तथा टपरी बनाउने व्यवसायीहरु पातको लागि आउने गरेको उनको भनाई छ ।
यता बाँके मरहा साझेदारी बनका अध्यक्ष बलराम यादवले आफ्नो बनमा मल्हानको पात कम भएपनि सखुवाको भने पर्याप्त उपलब्ध रहेको बताउछन् । बनलाई प्रभाव नकारात्मक प्रभाव नपर्ने गरि व्यवसायीलाई पात उपलब्ध गराउन सकिने बताउछन् । सरकारी तवरबाट भोजपत्र बनाउने व्यवसायीहरुलाई प्रोत्साहन गर्न सकिए यो व्यवसाय अझै फस्टाउने देखिन्छ।