१२० भूकम्पपीडित परिवार घरबाहिर, त्रिपाल र कम्बल ५९–५९ थान मात्रै वितरण

जोखिमपूर्ण घरमै छिरेर पीडितहरूले निकाल्न थाले अन्न र लत्ताकपडा

सोमबार, ८ पुष, २०८१
डिजिटल संस्करण
१२० भूकम्पपीडित परिवार घरबाहिर, त्रिपाल र कम्बल ५९–५९ थान मात्रै वितरण

रेडक्रसले वितरण गरेको त्रिपालमुनि विस्थापित परिवार

बाजुराको जगन्नाथ गाउँपालिका– ५, गोत्रीलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान ४ः१४ बजे गएको ५.२ रेक्टर स्केलको भूकम्पले घर भत्काउँदा १२० परिवार घरबाहिर छन् । तर, भूकम्पको दुई दिनसम्म खानेकुरा उपलब्ध नगराएको राज्यले सबै पीडित परिवारलाई एक–एक थान त्रिपाल र कम्बल पनि दिन सकेको छैन ।

आइतबार जिल्ला प्रशासन कार्यालयले ५०–५० थान तथा जिल्ला रेडक्रस शाखाले नौ–नौ थान त्रिपाल र कम्बल मात्रै उपलब्ध गराएका छन् । जब कि वडा कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार बिहारडाँडामा ३७, दर्जीटोलमा २५, बामनज्युलामा २०, तल्लो गोत्रीमा १८, माथिल्लो गोत्रीमा ११, खैरेनी झारघटमा आठ र पारिगाउँमा एउटा घर जोखिमपूर्ण अवस्थामा छन् । माटो र ढुंगाबाट बनेका घरहरू कतिपयको गाह्रो खसेको, कतिपयको गाह्रो चिराचिरा परेको तथा कतिपयको छानोसहित खसेको अवस्था छ । जोखिमपूर्ण घरबाट परिवारहरू बारीमा विस्थापित भएका छन् ।

गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले जिल्ला प्रशासन कार्यालयबाट ५० थान त्रिपाल र ५० थान कम्बल पालिकामा प्राप्त भएको बताए । साँझ ५ः३० तिर मात्रै त्रिपाल र कम्बल आइपुगेकोमा भूकम्पपीडितहरूलाई बाँड्न थालिएको उनले बताए ।

त्यस्तै, जिल्ला रेडक्रस शाखाका मन्त्री टंकप्रसाद न्यौपानेसहितको टोली बस्तीमै पुगेर केही पीडितहरूलाई सीधै नौ–नौ थान त्रिपाल र कम्बल बाँडेको छ । दर्जीटोलका मुगा दमाईं, पातु दमाईं, अनुराम दमाईं, अवि दमाईं, गोपी दमाईंलगायतलाई अपराह्न ४ बजेतिर त्रिपाल र कम्बल बाँडेको न्यौपानेले बताए । मुगा १३ दिनकी सुत्केरी हुन् भने पातुका दुई वर्षका छोरा छन् ।

बाँकी पीडितका लागि दातृ निकायबाट सहयोग माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलले बताए । ‘जिल्ला प्रशासन र रेडक्रसबाट गरेर ५९–५९ थान त्रिपाल र कम्बल पु¥याइएको छ । बाँकी पीडित परिवारका लागि विभिन्न सहयोगी संस्थाहरूसँग माग गरेका छौँ, छिट्टै उपलब्ध होला,’ उनले भने ।

एउटा कम्बल र त्रिपाल पाएका परिवारलाई पनि त्यसले पुग्ने अवस्था छैन । ‘हामी श्रीमान्–श्रीमतीसहित पाँच सन्तान छन् । सातजनाको परिवारलाई एउटा त्रिपालले शीत त ओत्ला, तर एउटा कम्बल सातजनाले कसरी ओढ्ने ?’ उनले भने, ‘भएको अन्नपात पनि भत्किएका संरचनाले घरभित्रै च्यापिएको छ । खानेकुरा केही छैन । खाद्यान्न कहिले पाइन्छ, थाहा छैन ।’ 

जोखिमपूर्ण घरमै छिरेर पीडितहरूले निकाल्न थाले अन्न र लत्ताकपडा
एक रात थोत्रा त्रिपाल र खुला आकाशमुनि बिताएका बाजुराका भूकम्पपीडितलाई दोस्रो दिन पनि राज्यले आवश्यक त्रिपाल, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएन । १२० परिवार विस्थापित भएकामा राज्यबाट जम्मा ५९–५९ थान त्रिपाल र कम्बल मात्रै पीडित बस्तीमा पुगेको छ । खाद्यान्न त झन् दिएकै छैन ।

चिसोबाट बच्न र भोक मेट्न पीडितहरूले जोखिमपूर्ण घरमै छिरेर अन्न र लत्ताकपडा झिक्न थालेका छन् । दर्जीटोलका जस दमाईंले डरैडरमा घरभित्र छिरेर लत्ताकपडा र अन्नहरू निकालेको बताए । उनले भने, ‘राज्यको राहत केही भेटिएको छैन । घरभित्र बस्ने अवस्था पनि छैन । चिसो र भोकले मर्नुपर्ने अवस्था निम्तिएपछि चिराचिरा परेको जोखिमपूर्ण घरभित्र छिरेर हतारहतार लत्ताकपडा र अन्नपात झिकेका छौँ । त्यही खान थालेका छौँ ।’

दुई परिवारलाई गाउँपालिका अध्यक्षले दिए पाँच हजार
मुगा र पातुका परिवारलाई पालिका अध्यक्ष कालीबहादुर शाहीले व्यक्तिगत सहयोगस्वरूप पाँच हजार रुपैयाँ दिएका छन् । साना बालबच्चा भएकाले उनीहरूलाई खाद्यान्न किनमेलका लागि सहयोग गरेको शाहीले बताए । आइतबार बस्ने भनिएको पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठक भने बस्न सकेन । अब सोमबार बिहान बस्ने अध्यक्ष शाहीले बताए । कुन वडामा कति पूर्ण र आंशिक क्षति छ भन्ने पूरा विवरण संकलन गरेपछि बैठकबाट पालिकाले आवश्यक सहयोग घोषणा गर्ने उनले बताए ।

सुझावित समाचार