रेसुंगामा बक्सिङ खेलाडी स्व. रानाको सालिक अनावरण

शुक्रबार, ५ पुष, २०८१
डिजिटल संस्करण

दक्षिण एसियाली बक्सिङ खेलमा दुई स्वर्ण र एक रजत पदक विजेता दलबहादुर रानाको स्मृतिमा रेसुंगा नगरपालिका– ४, सेउघामा उनको सालिक निर्माणपश्चात् अनावरण गरिएको छ।

रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले शुक्रबार दलबहादुरको सालिकको उद्घाटन गरे। मेयर पन्थीले गुल्मीसहित देशलाई खेल क्षेत्रमार्फत पहिचान दिलाउने स्वर्गीय दलबहादुरको सम्मान र सम्झनामा सालिक निर्माण गरिएको बताए।

नगरपालिकाले वडामार्फत विनियोजन गरेको करिब साढे १० लाख रुपैयाँको बजेटमा सालिक रहेको पार्क निर्माण गरिएको नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासिनीले जानकारी दिए। उनले दुई वर्षमा सालिक र पार्कका संरचना निर्माण गरिएको बताए।

रानाले खेलमार्फत गुल्मीसहित देशकै शिर उच्च बनाउन योगदान गरेकाले वडाबाट आफूहरूको ठुलो पहलमा सालिकसहितको पार्क निर्माण गरिएको रेसुंगा नगरपालिका–४ का वडाध्यक्ष लीलाधर आचार्यले बताए।

को हुन् दलबहादुर ?
दलबहादुर राना बुबा टुल्कबहादुर र आमा गोमता राना मगरको साइँलो छोराको रूपमा २०१८ सालमा जन्मिएका थिए। राना नेपाल प्रहरीका निरीक्षक थिए। दक्षिण एसियाली बक्सिङसँगै दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदकहरू जितेका दल बहादुरका भाइ चिन्ता राना मगरले बताए।

दलबहादुरले गुल्मी जिल्लामा पहिलोपटक देशभरका खेलाडी सहभागी गराएर ०४२ सालमा राष्ट्रिय जुनियर बक्सिङ प्रतियोगिता गराएका थिए। उनी गोरखा दक्षिणबाहुबाट पनि सम्मानित भएका छन्। उनको जटिल रोगका कारण ०५५ सालमा मृत्यु भएको हो। 

पुराना तीन खेलाडीलाई सम्मान
रेसुंगा नगरपालिकाले स्वर्गीय दलबहादुर रानाको सालिक अनावरण गर्दै जिल्लामा खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका रेसुंगा नगरभित्रका तीन पुराना खेलाडीलाई सम्मान गरेको छ। रेसुंगा नगरपालिका– ८ का आनन्द श्रेष्ठ, झपटसिंह भुजेल र रेसुंगा नगरपालिका– १ का छविलाल खरेललाई सम्मान गरिएको रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिए।

सुझावित समाचार