मेलवर्नको नेपाली मन्दिरलाई सुनको जलपसहितको ५२ केजी तौल भएको बुद्धको मूर्ति हस्तान्तरण गरिएकाे छ । लुम्बिनी-कपिलवस्तु विश्व अभियानका तर्फबाट उक्त मूर्ति हस्तान्तरण गरिएको हाे । अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक विशेष कार्यक्रमबिच मूर्ति हस्तान्तरण गरेका हुन् ।
लुम्बिनी-कपिलवस्तु विश्व अभियानको नेपाल राष्ट्रिय समितिका कोषाध्यक्षसमेत रहेका स्व. धर्मबहादुर शाक्यले बुद्धको जन्मस्थलका विषयमा सिर्जित विश्वव्यापी दिग्भ्रम निस्तेज गर्ने उद्देश्यले मूर्ति स्थापना गर्न चाहेका थिए । उनकै चाहनाअनुसार अभियानले मूर्ति हस्तान्तरण गरेको हो ।
नेपालमा बन्ने बुद्धको मूर्ति अन्य देशमा बन्ने बुद्धको मूर्तिभन्दा फरक हुने भएकाले अभियानको उद्देश्य प्राप्तिमा सहयोग पुर्याउनु र नेपाली कलायुक्त बुद्धको मूर्ति विश्वका विभिन्न भागमा पुर्याउनु स्व. शाक्यको उद्देश्य थियो ।
मूर्ति नेपाली मन्दिरमा हस्तान्तरण गर्नुअघि पञ्चकन्यासहितको सहभागीहरूले विश्व संयोजक श्रेष्ठको निवास क्षेत्रमा बुद्धसम्बन्धी भजन र गीत गाउँदै केही समय नेपाली र बुद्धिस्ट झन्डा, बुद्ध नेपालमा जन्मिएको सन्देशसहितका प्लेकार्ड र बाजागाजासहितको र्यालीसमेत गरेका थिए । सहभागीहरू नेपाली मन्दिर पुगेर मूर्ति हस्तान्तरण गरेपछि तीनजना लामाहरूद्वारा बौद्ध परम्पराअनुसार विधिपूर्वक पूजापाठ गरिएको थियो ।
अस्ट्रेलियन नेप्लिज मल्टिकचरल सेन्टरका अध्यक्ष गान्धी भट्टराईलगायत अन्य पदाधिकारीहरू भीम न्यौपाने, सुधीर शाक्य, अनन्तराज पौडेल, दीपक आचार्यले सहयोगका लागि लुम्बिनी-कपिलवस्तु विश्व अभियानलाई धन्यवाद ज्ञापन गर्दै लेखिएको सम्मानपत्र विश्व संयोजक श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।