लुम्बिनीको शैक्षिक नतिजा सुधार्न निर्मम समीक्षा जरुरी : मुख्यमन्त्री आचार्य

सोमबार, १ पुष, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको शैक्षिक गुणस्तर र नतिजा सुधारका लागि निर्मम समीक्षा गर्न आवश्यक रहेको बताएका छन्। 

तिलोत्तममा नगरपालिका–२ योगिकुट्टीस्थित जनजागृति माध्यमिक विद्यालयको ५२औं वार्षिकोत्सव तथा अभिभावक दिवस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन्।

नतिजा खस्कनुको पछाडीको कारण खोज्नुपर्ने, त्यसका लागि शिक्षा विज्ञहरुले भूमिका बढाउनुपर्ने र सुधारका विकल्पहरु अघि सार्नुपर्ने उनको भनाइ छ। ‘लुम्बिनी प्रदेशको गत वर्षको एसइईको नतिजाले झस्काएको छ। त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ। यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ,’ उनले भने, ‘गत वर्षको नतिजाले गम्भिर र चिन्तित बनाएको छ।’

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न परम्परागत कक्षाकोठालाई रुपान्तरण गरेर आधुनिक प्रविधिसंग जोड्न जरुरी रहेको मुख्यमन्त्री आचार्यले बताए। ‘अब परम्परागत रुपमा सोचेर हुँदैन। हाम्रा शिक्षण विधि तथा क्रियाकलापलाई प्रविधिसँग जोड्न जरुरी छ। कक्षाकोठाको रुपान्तरण पनि सोहीअनुसार गर्न आवश्यक छ,’ उनले भने, ‘अवको शिक्षालाई व्यवसायिक र प्राविधिक बनाउनुपर्छ। पढ्दापढ्दै स्वरोजगार हुने शिक्षा प्रणाली आजको आवश्यकता हो।’

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यार्थी र विद्यालयप्रति अभिभावकले निगरानी बढाउनुपर्नेमा उनले जोड दिए। सामुदायिक विद्यालयका शिक्षकहरुले पनि आफ्नो भूमिकाको आफैँ समीक्षा गर्नुपर्ने उनको भनाइ थियो।

सुझावित समाचार