जेम्स स्कुलको आयोजनामा शनिबारबाट ‘थन्डर बोल्ट्स कप २०२४’ खेलकुद प्रतियोगिता शुरु भएको छ। १२ वटा खेलमा उपत्यका भित्र र बाहिरका गरी १४० विद्यालय र चार हजारभन्दा बढी खेलाडीहरुको सहभागिता रहने बृहत खेलकुद आयोजनाको यो दोस्रो संस्करण हो।
१२ खेलमा बास्केटबल, फुटबल, भलिबल, क्रिकेट, टेनिस, टेबल टेनिस, आर्चरी, तेक्वान्दो, जुडो, चेस, फुटसल र पौडी रहेका छन्। ‘सपना देख, विश्वास गर, प्राप्ति गर’ भन्ने मूल नाराका साथ जेम्स विद्यालयको खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभागले प्रतियोगिता आयोजना गरेको हो।
पुस ९ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न खेल र बहुविधामा विजेता भई सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यालय थन्डर बोल्ट्स कप २०२४ को विजेता हुनेछ।
विजेता विद्यालयले ५ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ भने लगातार तीन वर्षको च्याम्पियन विद्यालयले ट्रफी कब्जा गर्नेछ। नेपालका विद्यालयहरूबिच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्नु प्रतियोगिता आयोजनाको उद्देश्य रहेको प्रतियोगिताका संयोजक अनित पाण्डेले बताए।
प्रतियोगितालाई थन्डर बोल्ट्स डेभलपमेन्ट सेन्टरले प्रायोजन तथा फोटोनले समर्थन गरेको छ। जेम्स स्कुलको खेल मैदानमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए।
उद्घाटन समारोहमा ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, जेम्स विद्यालयका संस्थापक अध्यक्ष राजेश खड्का, नेपाल जुडो तथा बक्सिङ संघका संस्थापक अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, शिक्षा विकास तथा समन्वय एकाइ ललितपुरका प्रमुख निमप्रकाश सिंह राठौर र प्याब्सनका उपाध्यक्ष कृष्ण अधिकारीलगायतको उपस्थिति थियो।