नर्सहरूको डरलाग्दो पलायन रोक्न तत्काल के गर्न सकिन्छ ?
मानिस जन्मदेखि मृत्युसम्म चाहिने सेवा हो नर्सिङ केयर । नर्सिङ केयरको महत्वलाई बुझेर सरकारी स्वास्थ्य संस्थाहरूमा जतिसक्दो धेरै नर्सहरूको दरबन्दी सिर्जना गर्नुपर्छ । उनीहरूको सम्मानपूर्वक जीवनयापन सुनिश्चित हुने गरी सेवा–सुविधा प्रत्याभूत गर्नुपर्छ । सरकारी स्वास्थ्य संस्थामा मात्रै होइन मेडिकल कलेज र अन्य सेवा प्रदायक सबैमा न्यूनतम सेवा सुविधाभन्दा कम दिन नपाउने व्यवस्थाले स्वास्थ्यकर्मीहरूको पलायन केही हदसम्म रोक्न सकिन्छ । जति सक्दो धेरै रोजगारी दिएर नर्सिङ जनशक्तिलाई देशमै राख्नुपर्छ । दोस्रो, नर्सिङभित्र पनि विशेषज्ञ वा विशिष्टीकृत पढाइ गर्न चाहनेहरूका लागि पर्याप्त हुने गरी सिट संख्या बढाइ दिनुपर्छ ।
सरकारले कुनै पहल गरेको छ ?
हामीले हिजो मात्रै पनि नर्सहरूलाई नेपाल सरकारले तोकेको तहअनुसारको न्यूनतम सेवा–सुविधाभन्दा कम गर्न पाइँदैन, स्वयंसेवी रूपमा काम गराउन पाइँदैन, अतिरिक्त काम गराएको अलग्गै सेवा–सुविधा दिनुपर्छ भनेर सबैलाई निर्देशन दिएका छौँ । चिकित्सा शिक्षा आयोगलाई पनि पिजीका लागि थप सिट थप्न अनुरोध गरेका छौँ । सयभन्दा धेरै बेड भएका सरकारी र निजी अस्पताललाई तिर्न सक्ने शुल्क लिएर नर्सिङ पढाउन सक्ने व्यवस्था मिलाउन भनेका छौँ ।
स्वास्थ्यकर्मी पलायनले नेपालको स्वास्थ्य क्षेत्रमा कस्तो असर पर्न सक्छ ?
नेपालका स्वास्थ्य संस्थाहरू चलाउन विदेशबाट जनशक्ति ल्याउनुपर्ने स्थिति सिर्जना होला भन्ने डर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई छ । हामी नयाँनयाँ स्वास्थ्य कार्यक्रम घोषणा गर्दै छौँ, नयाँनयाँ रोगहरू देखिँदै छन् । हरेक स्थानीय तहमा आधारभूत अस्पताल भन्दै छौँ । हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको कुरा गरिराखेका छौँ । स्वास्थ्यकर्मीहरूलाई रोजगारी र न्यूनतम वेतनका लागि बिदेसिनु नपर्ने स्थिति सिर्जना गर्न स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालयसम्म लबिङ गरिराखेको छ । यसमा नीति–निर्माताहरूको विशेष सहयोग आवश्यक छ ।