माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा नया लडाइँ सुरु हुन लागेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित माओवादी र जनमुक्ति पार्टीका अग्रगामी विचार समूहबिच समाहित तथा बृहत् राजनीतिक प्रशिक्षण कार्यक्रममा उनले प्राप्त अधिकारको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि नयाँ लडाइँ सुरु हुन लागेको बताए ।
माओवादीको नेतृत्वमा विगतमा भएका आन्दोलनबाट भएका परिवर्तनलाई नरुचाउनेहरू अधिकार खोस्ने पक्षमा रहेको उनले दाबी गरे । ‘पछाडि पारिएका वर्गहरूको पक्षमा भएका परिवर्तन प्रतिक्रियावादी, दलाल, बुर्जुवा, बिचौलियालाई पचेको छैन । पछाडि पारिएका वर्गहरूका लागि अधिकार धेरै भयो भन्ने उनीहरूलाई लागेको छ । उनीहरू अधिकार खोस्ने षड्यन्त्रमा छन्, तर हामीहरू त्यति मात्रै अधिकारले पुग्दैन, अझ बढी अधिकार चाहिन्छ भन्नेमा छौँ, यिनै विषयमा नयाँ लडाइँ हुरु हुँदै छ,’ प्रचण्डले भने ।
समाजवादी नयाँ आन्दोलनमार्फत परिवर्तन नचाहनेलाई जवाफ दिइने उनले बताए । ‘माओवादी सकियो भन्नेलाई को सकिँदै छ, को शक्तिशाली बन्दै छ भन्ने जवाफ जनताको साथबाट समाजवादी आन्दोलनमार्फत देखाउने छौँ,’ उनले भने । जनतामा कोप्रति घृण बढ्दै छ भन्ने संकेत पनि देखापरेको टिप्पणी पनि उनले गरे । तेस्रोपटक आफूले सत्ताको नेतृत्व लिएपछि भष्टाचारविरुद्ध महाअभियान थालेको स्मरण गर्दै उनले नेता तथा उच्चपदस्थ कर्मचारीहरूसमेत कारबाहीमा पर्न थालेको तथा भूमाफियाविरुद्धको अभियानले उनीहरू रुष्ट बनेको प्रचण्डको भनाइ थियो ।
अर्थतन्त्र डामाडोल रहेको अवस्थामा पछिल्लोपटक सत्ताको नेतृत्व लिएको र आफूले नेतृत्व लिएपछि अर्थतन्त्र समाल्दै विस्तारै लयमा ल्याउने काम भएको प्रचण्डले बताए । नेपालको छवि र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा अर्को उचाइमा पु¥याउन सकेको दाबी गर्दै उनले सत्ताबाट बाहिरिएपछि जनताको बीचमा पुगेको उनको भनाइ छ । ‘जनताको बीचमा आएपछि माओवादीप्रति जनतामा नयाँ आशा र भरोसा पैदा भएको छ । उपनिर्वाचनको परिणामले पनि पूर्वबाट लहर आएको छ, राम्रो संकेत देखिएको छ । ०६४ को झल्को अहिले दिएको छ, ०८४ सम्म आइपुग्दा माओवादी देशको शक्तिशाली पार्टी बन्ने सन्देश अहिले आएको छ,’ प्रचण्डले भने, ‘कांग्रेस, एमालेसहित अन्य पार्टीबाट माओवादीमा प्रवेश गर्नेहरूको लहर छ, जहाँ गयो माओवादीमा प्रवेशको लहर छ, यसले नयाँ सन्देश दिएको छ ।’