धादिङ जिल्लाको सदरमुकाम धादिङबेँसीमा शनिबारदेखि सडक नेवाः खाना उत्सव सुरु भएको छ। ‘सडकमै खाऔँ, सडकमै रमाऔँ, सडकमै कमाऔँ’ भन्ने मूल नाराका साथ झिंगु नेवाः समाज धादिङले खाना उत्सवको आयोजना गरेको हो।
नेवारी समुदायको भाषा, संस्कृति, खाना परिकार तथा पोसाकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पहिचान स्थापित गर्न खाना उत्सवको आयोजना गरिएको झिंगु नेवाः समाज धादिङका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। ‘सडक नेवाः खाना उत्सव लोप हुँदै गएको नेवारी संस्कृतिको जगेर्ना गर्ने विश्वास लिएका छौँ। मानिसहरूको उत्साहजनक सहभागिताले हामीलाई थप हौसला थपेको छ,’ उनले भने।
सडक महोत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाबिन छोइला, वः लगायतका नेवारी परिकारहरूको स्वाद लिन पाइनेछ। पहिलो प्रयास भए पनि सडक खाना उत्सवमा १५ सयभन्दा बढी मानिसहरूले अवलोकन गर्ने अनुमान गरिएको उनले बताए।
‘सडकको छेउमा स्टेजसहितको सांस्कृतिक कार्यक्रम गरिरहेका छौँ। अर्काे सडकको छेउमा थुप्रै खालका नेवारी परिकारका खानेकुराहरू बनाउँदै दिँदै गरेका छौँ,’ उनले भने, ‘कस्तो हुने रहेछ भनेर स्वाद चाख्न आउनेहरू बढी छन्। खाने, रमाइलो गर्ने र नेवारी परिकारको स्वादसँगै नेवारी संस्कृतिको बारेमा जानकारी लिन आउनेहरूको उत्साह देख्दा दुई दिनसम्म चल्ने महोत्सवमा १५ सयभन्दा बढीले अवलोकन गर्ने अनुमान छ।’
शनिबारदेखि सुरु भएको सडक महोत्सव आइतबारसम्म हरेक दिन दिउँसो २ बजेदेखि साँझ ८ बजेसम्म चल्नेछ। यो रोड महोत्सव नीलकण्ठ नगरपालिका–३ को संरक्षकमा झिंगु नेवाः समाज धादिङले आयोजना गरेको हो।