बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका– २ नडाङमा अन्दाजी आठवर्षीय विनिता नेपालीको हत्या आरोपमा सोही नगरपालिकाका ४८ वर्षीय नन्दे सनाईलाई प्रहरीले पक्राउ गरेको छ।
मानसिक सन्तुलन ठिक नभएका सोही गाउँका नन्दे सनाईले बालिकाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ सनाईले बालिकाको घाँटी रेटी हत्या गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
आरोपीबाट एक थान हँसिया, एक थान बन्चरो र एक कोदालो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बालिकाको शव शुक्रबार राति नै जिल्ला अस्पतालमा ल्याई प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।