नेपाली खेलकुदकै चर्चित प्रतियोगिता बनेको नेपाल प्रिमियर लिग (एनपिएल) अन्त्यतिर पुगिसकेको छ । अब लिग चरणका खेल सकिन तीन दिन मात्रै बाँकी छ । त्यसपछि प्लेअफका खेल हुनेछन् । शुक्रबारसम्म जनकपुर बोल्ट्स प्लेअफमा स्थान बनाएको छ । अन्य तीन स्थानका लागि सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, चितवन राइनोज, विराटनगर किंग्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सको प्रतिस्पर्धा छ । लुम्बिनी भने सातमध्ये एक खेल मात्रै जितेर प्रतियोगिताबाट बाहिरियो ।
६ पुससम्म चल्ने प्रतियोगितामा करिब एक सय करोड लगानी भएको छ । यो प्रतियोगिता मात्रै नभएर खेलकुदकै उत्सव भएको सरोकारवालाहरूले बताएका छन् । विश्वस्तरीय खेलाडी, दर्शकको सहभागिता, प्रतियोगिताको माहोल र अन्तर्राष्ट्रियस्तरमा प्रचार हुँदा यसको भविष्य उज्ज्वल भएको मानिन्छ । टेस्ट राष्ट्र भारतका चर्चित क्रिकेट स्टार शिखर धवन, न्युजिल्यान्डका मार्टिन गुप्टिल र जेम्स निसम, अस्ट्रेलियाका बेन कटिङ तथा पाकिस्तानका सोहेल तनविर एनपिएलसँग जोडिँदा प्रतियोगिताको माहोल विश्वभर छाएको छ । १५ मंसिरबाट सुरु भएको लिगमा कुल २० अर्धशतक र एक शतक बनिसकेका छन् । प्रतियोगितामा अहिले एसोसिएट राष्ट्रका उत्कृष्ट खेलाडीहरूको जम्काभेट त्रिवि मैदानमा भइरहेको छ । नेपाली खेल क्षेत्रकै लागि महत्वपूर्ण मानिएको एनपिएलको पहिलो संस्करणमा त्रिवि क्रिकेट मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा रहेका खेलाडी यस्ता छन् :
शिखर धवन – कर्णाली याक्स (खेल– ४, रन– १३६)
एनपिएल खेल्न आउने सबैभन्दा ठूलो नाम हो, शिखर धवन । कुनै पनि भारतीय खेलाडी नेपालमा फ्रेन्चाइज लिग खेल्न आएको पहिलोपटक हो । उनलाई एक खेलका लागि कर्णाली याक्सले ३० हजार डलरमा भित्र्याएको थियो । हिमालयन विल्डर्स एन्ड इन्जिनियरको स्वामित्वमा रहेको कर्णालीका लागि चार खेलमा उनले १३६ रन बनाए । जसमा एक अर्धशतक छ । एनपिएलमा अर्धशतक बनाउने पाँचौँ ब्याटर बनेका धवनले काठमाडौं गुर्खाजविरुद्ध अविजित ७२ रन बनाएका थिए । पूरै २० ओभर त्रिविको पिचमा बिताएका धवनले ५१ बल खेल्दै चार चौका र पाँच छक्का प्रहार गरेका थिए । ३९ वर्षीय धवनले पहिलो खेलमा जनकपुरविरुद्ध १४, दोस्रो खेलमा काठमाडौंविरुद्ध अविजित ७२, तेस्रो खेलमा चितवनविरुद्ध ४५ तथा अन्तिम खेलमा विराटनगरविरुद्ध पाँच रन बनाएका थिए । नेपाल आएको अवसरमा पशुपतिनाथ मन्दिर र सगरमाथाको आधारशिविर पुगेर उनी आइतबारै स्वदेश फर्किसकेका छन् ।
मार्टिन गुप्टिल – विराटनगर किंग्स (खेल – ६, रन – १३७)
३८ वर्षीय मार्टिन गुप्टिल एनपिएल खेल्ने दोस्रो ठूलो नाम हो । न्युजिल्यान्डका लागि उनले ४७ टेस्ट, १९८ एकदिवसीय तथा १२२ टी–२० आई खेलेका छन् । उनले सन् २०१५ मा भएको एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजविरुद्ध दोहोरो शतक नै बनाएका छन् । विराटनगरका ओपनर गुप्टिलले जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाए । प्रतियोगितामा अर्धशतक बनाउने पहिलो ब्याटर बन्ने क्रममा उनले ४३ बलमा सात चौका र एक छक्कासहित ५५ रनको इनिङ खेलेका थिए ।
रवि बोपारा – चितवन राइनोज (खेल– ६, रन – १८९, विकेट–१)
चितवन राइनोजसँग जोडिएका मध्यक्रम ब्याटर रवि बोपाराले प्रतियोगितामा दुई अर्धशतकसहित एक विकेटसमेत हात पारेका छन् । उनी उच्च रनकर्ताको दौडमा तेस्रो स्थानमा छन् । ३९ वर्षीय बोपाराले दोस्रो खेलमा पोखराविरुद्ध ५१ तथा तेस्रो खेलमा कर्णाली याक्सलाई हराउँदा अविजित ५९ रन बनाएका थिए । भने एक विकेटसमेत लिएका थिए । यसअघि पहिलो खेलमा काठमाडौंविरुद्ध ११, सुदूरपश्चिमविरुद्ध ३६ तथा लुम्बिनीविरुद्ध १२ तथा छैटौँ खेलमा विराटनगरविरुद्ध २० रन बनाएका हुन् । बोपराले इंग्ल्यान्डका लागि १३ टेस्ट, १२० एकविदसीय र २८ टी–२० आई खेलिसकेका छन् ।
लाहिरू मिलान्था – जनकपुर बोल्ट्स (खेल – ६, रन– १९१)
एनपिएलको उद्घाटन खेलमै विराटनगरविरुद्ध लाहिरू मिलान्थाले अर्धशतक बनाएका थिए । जनकपुरले आठ विकेटको सहज जित निकाल्दा मिलान्थाले अविजित ७५ रन बनाए । यसक्रममा उनले ५३ बल खेल्दै नौ चौका र तीन छक्का प्रहार गरे । कोलम्बोमा जन्मिएर अमेरिका बसाइँ सरेका ३० वर्षीय विकेटकिपर तथा ब्याटर उनले श्रीलंकाको ए टिमबाट खेलिसकेका छन् । मिलान्थाले दोस्रो खेलमा कर्णालीविरुद्ध २४, पोखराविरुद्ध ४५ र चौथो खेलमा लुम्बिनीविरुद्ध २४, सुदूरपश्चिमविरुद्ध सात तथा काठमाडौंविरुद्ध १६ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा टोली एक खेलअघि नै प्लेअफमा स्थान बनाउन सफल भयो ।
सोहेल तनविर – चितवन राइनोज (खेल– ६, विकेट – १०)
पाकिस्तानलाई आइसिसी टी–२० विश्वकप र राजस्थान रोयल्सलाई आइपिएल उपाधि जिताइसकेका सोहेल तनविर एनपिएलको अर्का चर्चित खेलाडी हुन् । ४० वर्षीय बायाँ हाते तीव्रगतिका बलरले पहिलो खेलमै आफ्नो प्रभाव जमाएका थिए । उनले काठमाडौंविरुद्ध पहिलो खेलमै सर्वाधिक पाँच विकेट लिन सफल रहे । उनी एनपिएलमा पाँच विकेट लिने पहिलो खेलाडी हुन् । उनले दोस्रो खेलमा पोखराविरुद्ध पहिलो ओभरमै तीन विकेट लिएर दबदबा कायम गरेका छन् । त्यही खेलमा तीन ओभरमा एक मेडनसहित ६ रन मात्रै खर्चिएका थिए । तर, त्यसपछिका पिचमा स्पिनर चम्किएपछि तनविर विकेटविहीनजस्तै छन् । तनविरले तेस्रो खेलमा कर्णाली याक्स र पाँचौँ खेलमा लुम्बिनीविरुद्ध विकेटविहीन हुँदा चौथो खेलमा सुदूरपश्चिमविरुद्ध एक विकेट लिएका थिए । हालसम्म १० विकेट लिएका उनी एनपिएलकै उच्च विकेटकर्ता बन्ने दौडका छन् । उनलाई स्पिनर ललित राजवंशी र तीव्रगतिका बलर रिजन ढकालले पछि पारेका छन् ।
रोहितकुमार पौडेल – लुम्बिनी लायन्स (खेल– ७, रन– २७९, विकेट–८)
लुम्बिनीले प्रतियोगितामा खराब प्रदर्शन गर्दै प्लेअफमै स्थान बनाउन सकेन । सातमध्ये ६ खेलमा पराजित भयो । तर, कप्तान रोहितकुमार पौडेलको प्रदर्शन भने सानदार रह्यो । उनी एनपिएलमा ३२ मध्ये २३ खेल सकिँदा उच्च रन २७९ बनाउने पहिलो खेलाडी हुन् । प्रतियोगितामा विदेशी खेलाडी हाबी भइरहँदा रोहितले नेपाली खेलाडीको प्रतिनिधित्व गर्दै अलरान्उड प्रदर्शन गरेका छन् । २२ वर्षीय रोहितले सात विकेट पनि लिइसकेका छन् । उनी प्रतियोगिताको ११औँ खेलमा पोखराविरुद्ध शतक बनाउन पाँच रनले चुके । ९५ रन बनाउने क्रममा रोहितले ५९ बलमा १० चौका र चार छक्का प्रहार गरेका थिए । दोस्रो खेलमा पोखराविरुद्ध ९५ रन बनाएका रोहितले पहिलो खेलमा विराटनगरविरुद्ध ४६, तेस्रो खेलमा सुदूरपश्चिमविरुद्ध पाँच तथा जनकपुरविरुद्ध ३५ रन, चितवनविरुद्ध ८० तथा काठमाडौंविरुद्ध ८ रन र अन्तिम खेलमा कर्णालीवरुद्ध मात्र १० रन बनाए ।
ललित राजवंशी – जनकपुर बोल्ट्स (खेल– ६, विकेट– ११)
राष्ट्रिय टोलीका तीव्रगतिका बलर सोमपाल कामी र करण केसी तथा स्पिनर सन्दीप लामिछानेले कमजोर प्रदर्शन गर्दा अर्का स्पिरन ललित राजवंशीको प्रदर्शन उच्च कोटीको छ । त्रिविको पिच स्पिनर मैत्री बन्दा त्यसको फाइदा ललितले उठाए । उनले ६ खेलमा २४ ओभर बलिङ गर्दै ११ विकेट लिएपछि जनकपुर एक खेलअघि नै प्लेअफमा स्थान बनाउन सफल भयो । २५ वर्षीय ललितले दुई मेडन राख्न इकोनोमिक ५.३३ रहेको छ । उनले विराटनगर, पोखरा र काठमाडौंविरुद्ध समान तीन विकेट लिए ।
विलियम बासिस्टो – कर्णाली याक्स (खेल– ४, रन– ११२, ८ विकेट)
अस्ट्रेलियालाई सन् २०१२ मा आइसिसी यू–१९ विश्वकपमा उपविजेता बनाएका कप्तान विलियम बासिस्टो एनपिएलको दोस्रो र तेस्रो खेलमै आफ्नो प्रभाव देखाउन सफल भए । उनले पोखराविरुद्ध एकै खेलमा ६ विकेटको प्रदर्शन गरे । एनपिएलमा एकै खेलमा ६ विकेटको कीर्तिमानी राख्ने उनी पहिलो बलर हुन् । उनले विराटनगरविरुद्धको खेलमा २९ बलमा ६६ रन जोडेका थिए । लुम्बिनीविरुद्धको खेलमा जित्नैपर्ने दबाबमा रहेको कर्णालीका लागि उनले एक विकेटसहित ४४ रनको अलराउन्ड प्रदर्शन गरेका थिए । दायाँहाते लेग ब्रेक बलिङ गर्ने बोसिस्टोले १४ लिस्ट ‘ए’ खेलमा तीन सय ८९ रन जोडेका छन् । अस्ट्रेलियाबाट ११ टी–२० खेलमा खेलेका उनले बिग ब्यास लिगमा नियमित खेलिरहेका छन् ।
आन्द्रेस गौस – पोखरा एभेन्जर्स (रन – १८८, खेल – ४)
दक्षिण अफ्रिकामा जन्मिएर अमेरिकाका लागि खेलिरहेका आन्द्रेस गौस एनपिएलमा शतक बनाउने पहिलो खेलाडी हुन् । ३१ वर्षीय दायाँहाते ब्याटर उनले पोखराको तेस्रो खेलमा लुम्बिनीविरुद्ध १०४ रनको अविजित प्रदर्शन गरे । एनपिएलको ११औँ खेलमा दश विकेटको जित निकाल्दा गौसले ५५ बलमा १२ चौका र ५ छक्का हिर्काएका थिए । यसअघि आफ्नो पहिलो खेलमा उनले २० रन बनाएका थिए । दक्षिण अफ्रिकाको यू–१९ टिमबाट खेलिसकेका गौसले तेस्रो खेलमा कर्णालीवरुद्ध २५ रन बनाए । चौथो खेलमा सुपर ओभरमा विराटनगरविरुद्ध विजयी हुँदा उनले ३९ रनको योगदान गरेका थिए ।
विपिन शर्मा – कर्णाली याक्स (खेल– ५, विकेट – ८)
चितवनविरुद्ध ३ विकेट लिएपछि एनपिएलमा विपिन शर्माको चर्चा हुन थालेको हो । उनले विश्व क्रिकेटमा तहल्का मच्चाएका बलर सोहेल तनविरलाई टियूको पिचमा बोल्ड गरेका थिए । त्यति मात्रै होइन, आइपिएलको उपाधिसमेत चाखिसकेका अस्ट्रेलियाका अलराउन्डर बेन कटिङलाई पनि उनले एनपिएलमै आउट गर्न सफल रहे । कर्णाली याक्सको ट्यालेन्ट हन्टबाट छानिएका सुर्खेतका १६ वर्षीय विपिनले एनपिएलमा पाँच खेल खेल्दा आठ विकेट लिइसकेका छन् । पहिलो खेलमा काठमाडौंविरुद्ध एक विकेट लिँदासम्म कसैको नजरमा नपरेका विपिनको चितवनविरुद्ध तीन विकेट लिएपछि एकाएक चर्चा चुलियो । उनले तेस्रो खेलमा विराटनगरविरुद्ध दुई तथा पोखराविरुद्ध चौथो खेलमा एक विकेट लिए । एनपिएलमै गरेको प्रदर्शनका आधारमा उनलाई नेपाली क्रिकेटको भविष्यसँग जोडेर हेर्न थालिएको छ ।