गण्डकी प्रदेश सभामा निर्वाचित समानुपातिक सांसद थापाद्वारा शपथग्रहण

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसकी सुनिता थापाले शुक्रबार पद तथा गोपनीयताको शपथग्रहण गरेकी छिन्। नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित थापालाई प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा सभामुख कृष्णप्रसाद धितालले शपथ गराएका हुन्।

यसअघि समानुपातिकतर्फ निर्वाचित म्याग्दीकी विमला गौचनको डेंगुका कारण गत २८ कात्तिकमा मृत्यु भएपछि रिक्त रहेको स्थानमा थापालाई पठाउने निर्णय २४ मंसिरमा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले निर्णय गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले रिक्त पदमा थापालाई पठाउने निर्णय गर्दै उनको नाम अनुमोदन गरेको थियो।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत बन्दसूचीमा रहेको नामबाट आदिवासी, जनजाति महिला कोटामा थापालाई पठाउने निर्णय भएको थियो। बैठकले थापालाई पठाउने निर्णय अनुमोदन गर्दै उनको नाम निर्वाचन आयोगमा सिफारिस गरेको थियो। कांग्रेसको सिफारिसपछि आयोगले थापालाई निर्वाचित गरेसँगै उनले शुक्रबार शपथ लिएकी हुन्।

कांग्रेसले आयोगमा पेस गरेको बन्दसूचीमा आदिवासी, जनजाति महिला कोटमा म्याग्दीकी गौचनको नाम पहिलो नम्बरमा थियो। त्यसपछि पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो भने थापाको नाम पाँचौँ नम्बरमा थियो।

०४९ सालमा स्याङ्जाको चापाकोटमा जन्मेकी थापाले ६ कक्षा अध्ययन गर्ने क्रममा श्रवणशक्ति गुमाएकी थिइन्। पार्टीको महाधिवेशन प्रतिनिधि रहेकी उनी अपांगता अधिकारका लागि क्रियाशील छिन्। थापाले स्नातकसम्म अध्ययन गरेकी छिन्। थापाको नियुक्तिपछि गण्डकीमा पहिलोपटक अपांगता भएका प्रतिनिधि चयनसँगै सांकेतिक भाषाका लागि दोभाषेको समेत व्यवस्था गरिएको छ।

सुझावित समाचार