स्तरोन्नतिको काम भइरहेको पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डमा आउँदो २ पुससम्म दैनिक १० घण्टा सवारी सञ्चालनमा अवरोध हुने भएको छ। पश्चिमखण्डको जामुने बजारदेखि पोखराको सेती नदी पुलसम्मको सडकखण्ड स्तरोन्नति कार्यअन्तर्गत शुक्रबारदेखि २ पुससम्म सवारी सञ्चालनमा अवरोध हुने भएको हो।
कोत्रेखोलाको पुलमा निर्माण कार्य गर्नुपर्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी शुक्रबारदेखि २ पुससम्म बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म सवारी आवागमनमा अवरोध हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सूचनामार्फत जानकारी दिएको हो। सो समयमा सवारी आवागमन (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) आंशिक रूपमा प्रभावित हुने भएकाले एकपटकमा बढीमा एक घण्टाका लागि सडक अवरोध हुने सूचनामा उल्लेख छ।
यसअघि सडकअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका– १२ स्थित छिर्कनेदेखि देउरालीसम्मको सडक दैनिक चार घण्टा ३० मिनेटका दरले ३ मंसिरदेखि बन्द गरी काम गरिएकोमा २४ मंसिरदेखि भने निरन्तर सञ्चालनमा छ।
राजमार्गअन्तर्गत पर्ने आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकलाई दुई प्याकेजमा विभाजन गरेर पूर्वी र पश्चिमखण्ड नाम दिएर स्तरोन्नतिको काम भइरहेको छ । पूर्वीखण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिमखण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटरको क्षेत्रलाई तेकिएको छ।