कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीले चालकले मापसे गरेर सवारी चलाए इन्जिन आफैँ बन्द भएर गाडी रोकिने उपकरण निर्माण गरेका छन्। सवारीमै चालक आफैँले अल्कोहल टेस्ट गर्न सक्ने र अत्यधिक मापसे गरेको भए गाडीले संकेत गरेर इन्जिन आफैँ बन्द गर्ने उपकरण विद्यार्थीले बनाएका हुन्।
पोलिटेक्निकको डिप्लोमा मेकानिकल तेस्रो वर्षका विद्यार्थीले ६ महिना लगाएर कुनै पनि सवारीमा जडान गरेर चालकले कति प्रतिशत अल्कोहल खाएको छ र चलाउन सक्ने अवस्थामा छ–छैन भन्ने पत्ता लगाउन सक्ने तथा ४० प्रतिशतभन्दा बढी मापसे गरेको भए इन्जिन आफैँ बन्द हुने उपकरण बनाएका हुन्।
विद्यार्थीहरूका अनुसार अल्कोहल उपकरणलाई स्तरोन्नति गरेर कार, बाइक, बस, ट्रक जुनसुकै सवारीको इन्जिनमा जडान गर्न सकिन्छ । यदि चालकले ४० प्रतिशतभन्दा बढी मादक पदार्थ सेवन (मापसे) गरेको रहेछ भने उक्त उपकरणले तत्काल सिग्नल दिन्छ र इन्जिन आफैँ बन्द हुन्छ। यो उपकरणले दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने पोलिटेक्निकका इन्जिनियर तथा शिक्षक दीपेन्द्र यादवले बताए। शिक्षक यादवका अनुसार १७ मंसिरमा विद्यार्थीले उक्त आविष्कार शिक्षालयमा प्रदर्शन गरेर उपकुलपतिलगायतलाई अवलोकन गराएका थिए।
विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले विद्यार्थीहरूले आविष्कार गरेको उपकरण दुर्घटना कम गराउन उपयोगी हुने भएकाले त्यसको स्तरोन्नतिका लागि दाताहरूको खोजीमा लागिरहेको र कोशी प्रदेश सरकारसँग पनि आग्रह गरिरहेको बताए।