सधैँ हाम्रा मित्र हुँदैनन् साम्राज्यवादका शत्रु

शुक्रबार, २८ मंसिर, २०८१
डिजिटल संस्करण

साम्राज्यवादविरोधी अभियान त्यतिवेला मात्र सफल हुनेछ, जब साम्राज्यवादविरोधीले न्यूनतम नैतिक मापदण्ड कायम राख्नेछन् 

१५ अगस्ट २०२१ मा जब काबुलमा अमेरिका समर्थित सत्ता ढल्यो, मैले अमेरिकी साम्राज्यवाद पराजित भएकामा राहत व्यक्त गरेको थिएँ । तर, जिहादी तालिबानको हातमा अफगान महिलाले भोग्नुपर्ने पीडालाई लिएर भय पनि व्यक्त गरेको थिएँ । लगत्तै अमेरिकी उदार–साम्राज्यवादी समूहले मलाई तालिबानको विजयोत्सव मनाएको आरोप लगायो । साम्राज्यवादीका अनुसार अमेरिकी साम्राज्यवादको समर्थन गर्नुहुन्न भने तपाईं जिहादीहरूको समर्थक हुनुपर्छ । वास्तवमा अमेरिकी साम्राज्यवाद र यसको क्रूरताले बलियो बनाएका जिहादी दुवैको समान रूपमा विरोध गर्नु हाम्रो दायित्व थियो र ग¥यौँ । तर, साम्राज्यवादी सोचले यो बुझ्न सक्दैन । यो तप्काले अमेरिकी साम्राज्यवादी आक्रमणले तिनै जिहादीलाई सशक्त बनायो, जसले अफगान महिलालाई लैंगिक विभेदको कठोर नियन्त्रण राखेको थियो भन्ने बुझ्दैनन् ।

गत आइतबार सिरियामा असद सत्ताको पतन भयो र जिहादीले दमास्कस कब्जा गरे । र, यसपटक मैले एक अत्याचारी सत्ताको पतन भएकामा राहत व्यक्त गरेँ र लेखेँ– ‘सिरियालीले पर्याप्त दुःख भोगिसके । सिरियालीले इराकी र लिबियालीजस्तै आफ्ना तानाशाहको पतनपछि थप दुःख भोग्न नपरोस् भन्ने सुनिश्चित गर्नुपर्छ । र, त्यसका लागि पश्चिमा वा गैरपश्चिमा विदेशी शक्तिलाई मुलुकबाट टाढा राख्नुपर्छ ।’ काबुलको पतनको घटनामा झैँ मलाई फेरि जिहादीका लागि विजयोत्सव मनाएको आरोप लगाइयो र यसपटक यो आरोप अमेरिकी साम्राज्यवादविरोधीले लगाएका थिए । यो तप्काले पनि अमेरिकी साम्राज्यवादका समर्थकले ‘तपाईं हाम्रो पक्षमा हुनुहुन्न भने तपाईं हाम्रो विपक्षमा हुनुहुन्छ’ भन्ने कुतर्क गरेका थिए । मेरा साम्राज्यवादविरोधी आलोचकले असदको तानाशाही शासनले उनलाई अपदस्थ गर्ने जिहादीलाई नै बलियो बनाएको थियो भन्ने बुझ्न सकेनन् ।

असद (वा उनीभन्दा अगाडिका इराकका सद्दाम हुसेन) जस्ता तानाशाहलाई समर्थन गर्नु राम्रो ठान्ने साम्राज्यवादविरोधीलाई मेरो सन्देश यसप्रकार छ । साम्राज्यवादविरुद्ध लड्न र दीर्घकालीन रूपमा विजय प्राप्त गर्न हामीले जनताको मन एवं मस्तिष्क जित्नुपर्छ । र, हामीले तानाशाहहरूलाई समर्थन गरेर यसो गर्न सक्दैनौँ, अर्थात् यी तानाशाह हाम्रा शत्रुका शत्रु हुन् भन्दैमा जनताले घृणा गर्ने पात्रलाई समर्थन गर्न मिल्दैन । तर, के इराक अमेरिकी सेनाले सद्दामलाई अपदस्थ गर्नुअघि राम्रो अवस्थामा थिएन ? केहीले सोध्छन् । पक्कै पनि राम्रो थियो । के पश्चिमले गद्दाफीलाई हटाउनुअघि लिबियाको अवस्था ठिक थिएन र ? पक्कै पनि थियो । असदको पतनपछि सिरिया झन् ठुलो रक्तपातको सिकार हुने जोखिममा छैन र ? पक्कै पनि छ । यसका बाबजुद सद्दाम, गद्दाफी वा असदलाई साम्राज्यवादको विकल्पका रूपमा ‘समाधान’ मान्न सकिँदैन । यी पात्रको तानाशाही सत्ताले आफ्नै जनतालाई टाढा पार्छ र अन्ततः पतन हुन्छ, अर्थात् यी पात्र साम्राज्यवादको प्रतिरोध गर्न असमर्थ हुन्छन् । केही समयका लागि ती प्रमुख साम्राज्यवादी मुलुक अमेरिकाका शत्रु हुन सक्छन् । तर, यसले यी तानाशाह पात्रलाई साम्राज्यवादविरोधीको मित्र बनाउँदैन ।

संक्षेपमा भन्ने हो भने साम्राज्यवादविरोधी अभियान त्यतिवेला मात्र सफल हुनेछ, जब साम्राज्यवादविरोधीले न्यूनतम नैतिक मापदण्ड कायम राख्नेछन् । यही नैतिकता हाम्रो सबभन्दा ठुलो हतियार हो, न कि एके ४७ वा एन्टी–एयरक्राफ्ट मिसाइल हो । किनभने, हामी न्यूनतम नैतिक मापदण्डमा अडिग रह्यौँ भने हामी विश्वव्यापी रूपमा ती जनसमुदायको समर्थन जित्न सक्छौँ, जसले सैद्धान्तिक मानवतावादी अडानको कदर गर्छन् । यसले हामीलाई एकातिर जिहादीलाई काबुल कब्जा गर्नबाट रोक्न अफगानिस्तानमा दुई दशक लामो कब्जा अनिवार्य भएको भन्ने र अर्कातर्फ दमास्कसलाई जिहादीले कब्जा गरेकोमा उत्सव मनाउने पश्चिमा मिडियाको द्वैध चरित्रलाई सजिलै उदांगो बनाउन पनि मद्दत गर्नेछ । दुर्भाग्य, हामीले न्यूनतम नैतिक मापदण्ड कायम राखेनौँ र आफ्ना शत्रुका विपक्षमा रहेका तानाशाहलाई समर्थन ग¥याँै भने शत्रुका प्रिय तानाशाहको विरोध गर्ने हाम्रो अडान पनि पश्चिमा मिडियाको जत्तिकै पाखण्डी सुनिनेछ । र, विश्वास गर्नुस्, त्यो नै पश्चिमा मिडिया, साम्राज्यवाद र तानाशाहीलाई सबैभन्दा ठुलो उपहार हुनेछ, किनभने यो अवस्था तिनका ‘तानाशाह’ र हाम्रा ‘तानाशाह’बिचको प्रतिस्पर्धामा सीमित हुनेछ ।

सद्दाम हुसेनको तानाशाही र जर्ज डब्लु बुसको इराकमाथिको आपराधिक आक्रमणको विरोध गर्न कुनै द्विविधा मान्नुपर्दैन । न त मिलोसेभिक नै सही थिए, न त सर्बियाली नागरिकलाई तारो बनाएर गरिएको नेटोको बमबारी सह्य थियो । न त तालिबानको अत्याचार ठिक थियो, न त अफगानिस्तानमाथि अमेरिकी आक्रमण नै जायज थियो । न त असदको सत्ता उचित थियो, न उनलाई अपदस्थ गर्न अमेरिकी समर्थन प्राप्त जिहादीको सत्ता उचित हुनेछ । यो कुनै विरोधाभास होइन, बरु साम्राज्यवादविरोधीका लागि एक मात्र सही र प्रभावकारी उपाय हो । 

असदको पतनपछि हाम्रासामु पश्चिमा मिडियाले नयाँ सिरियाको जन्मको प्रशंसा लेखिरहेको छ । तर, नयाँ सिरियाभरि खसिरहेको अमेरिकी र इजरायली बमबारे एक शब्द पनि बोलेको छैन वा इजरायलले गरिरहेका अतिक्रमणबारे चुइँक्क पनि बोलिँदैन । के तपाईंले गाजामा भइरहेको निरन्तर नरसंहारबारे अब धेरैले कुरा गर्न छाडेको महसुस गर्नुभएको छैन ? वास्तवमा मौनताले यसरी खुट्टा पसार्नु नेतन्याहु तथा उनका अमेरिकी र युरोपेली नरसंहार समर्थकको ठुलो विजय हो । त्यसैले कमरेडहरू ! साम्राज्यवादको विरोध गर्दा न्यूनतम नैतिक मापदण्ड कायम गरौँ । र, प्यालेस्टाइनका पक्षमा बोल्न नछोडौँ । 

(ग्रिसका पूर्वअर्थमन्त्री भारुफाकिस एथेन्स विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन्)  एक्स डटकमबाट
 

सुझावित समाचार