दुई खर्ब नाघ्यो शोधनान्तर बचत, चार महिनामा पाँच खर्ब २१ अर्ब भित्रियो रेमिट्यान्स
पछिल्लो तीन महिनायता (भदौदेखि) महँगीदर (मुद्रास्फीति) बढ्न थालेको छ । साउनमा ४.०९ प्रतिशत रहेको मुद्रास्फीति भदौमा ३.८६ प्रतिशतमा सीमित थियो । तर, भदौपछि लगातार मुद्रास्फीति बढ्दो क्रममा देखिन थालेको छ । असोजमा ४.८२ प्रतिशत पुगेको मुद्रास्फीति कात्तिकमा आइपुग्दा ५.६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंको तथ्याङ्कले देखाए झै पछिल्लो समय बजार भाउ बढ्दो अवस्थामा देखिएको उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बताए । ‘पछिल्लो समय घोषित र अघोषित रूपमा मूल्यवृद्धि बढिरहेको छ । खासगरी निर्माण र खाद्य सामग्रीको भाउ बढिरहेको छ’ उनले भने ‘व्यवसायीहरूले कार्टेलिङ गरेर अस्वभाविकरुपमा मूल्य बढाइरहेका छन् ।’
उपभोक्ताको दैनिक जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध राख्ने महँगी बढ्दा पनि अर्थशास्त्रीहरू भने माग बढेर आर्थिक गतिविधि चलायमान भएका कारण यसलाई अर्थतन्त्रको सकारात्मक सूचक मान्नुपर्ने तर्क गर्छन् ।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक केशव आचार्यले विगत दुई वर्षयता वस्तु तथा सेवाको माग बढ्न नसकेर अर्थतन्त्र संकुचनमा गएर निराशालाग्दो अवस्थामा देखिएको समयमा सीमान्त रूपमा मुद्रास्फीतिको वृद्धिले माग बढेको सुखद सन्देश प्रवाह गरेको बताए । उनले भने, ‘महँगी सधैँ खराब हुँदैन । अहिलेको मुद्रास्फीति वृद्धिले दुई वर्षदेखि आर्थिक गतिविधि चलायमान नभएको चिन्ता खेपिरहेको अवस्थामा पुनः अर्थतन्त्र लयमा फर्किने आशा जगाएको छ ।’
बैंकहरूको कुल निक्षेपमा मुद्दतीको अंश घटिरहेको छ । ब्याजदर घटेपछि मुद्दतीको पैसा बचतमा राख्न थालेको र यस्तो पैसा उपभोगमा खर्च भएको हुन सक्ने उनको बुझाइ छ । उनले भने, ‘सीमान्त रूपमा मुद्रास्फीति अलिकति बढेको छ । खासगरी खाद्य पदार्थको मुद्रास्फीति बढेको देखिन्छ । गैरखाद्यको अलिकति मत्थर भएको छ । खाद्यमा पनि तरकारी, घिउ, तेल र दालको बढी योगदान देखिन्छ ।’
मुद्रास्फीति बढ्नुमा आपूर्ति वा माग कुन पक्ष हाबी भएको छ भन्ने बुझ्न सूक्ष्म अध्ययन गर्नुपर्ने अर्थशास्त्री आचार्यको विश्लेषण छ । उनले भने, ‘अहिलेको मुद्रास्फीति वृद्धि हुनुमा आपूर्ति वा मागको कारण भन्न सकिने अवस्था छैन । आपूर्ति कम भएर मुद्रास्फीति बढी भएको हो कि, माग बढेर हो ?’
कारण जेजस्तो भए पनि मुद्रास्फीतिको दर बढ्दा लगानीकर्तालाई भने प्रोत्साहन गर्ने उनको बुझाइ छ । केन्द्रीय बैंकका अनुसार यो अवधिमा बैंक तथा वित्तीय संस्थामा जाने कर्जा प्रवाह एक खर्ब २८ अर्ब ४७ करोड रुपैयाँले बढेको छ । यो २.५ प्रतिशतको वृद्धिदर हो । गत आवको सोही अवधिमा ९९ अर्ब ४० करोडले मात्रै बढेको थियो । आचार्यका अनुसार निजी क्षेत्रलाई जाने कर्जा उत्साहजनक नभए पनि सीमान्त रूपले बढ्दा माग बढेको देखिएको उनले बताए । उनले भने, ‘कर्जा नतिरेर ब्याजलाई पुँजीकरण गरेकाले पनि कर्जा प्रवाह बढ्न सक्छ । यद्यपि, झट्ट हेर्दा कर्जा बढ्नु राम्रो विषय हो । वैदेशिक व्यापार बढेको हुनाले त्यता कर्जा गएको अनुमान लगाउन सकिन्छ ।’
कर्जा प्रवाह बढे पनि सरकारी वित्त ऋणात्मक हुँदा कृषि, उद्यमजस्ता क्षेत्रमा सहुलियत कर्जा प्रवाह हुन सकेको छैन । विद्युतीय सवारीसाधनको आयात बढ्दा पेट्रोलियमको आयात घट्नु अर्काे सकारात्मक विषय भएको उनको बुझाइ छ ।

केन्द्रीय बैंकका अनुसार चार महिनामा गत आवको सोही अवधिको तुलनामा सरकारी खर्च १६.७ प्रतिशत र राजस्व १६.८ प्रतिशतले बढेको छ । उनले भने, ‘चार महिनाको सरकारी वित्त आशालाग्दो देखिन्छ । पुँजीगत खर्च बढेको छ, राजस्व बढेको छ । राजस्व बढ्नु भनेको आर्थिक क्रियाकलापले गति लिएको हो कि भन्न सकिन्छ ।’
गत आर्थिक वर्षमा नेपालको मुद्रास्फीति भारतको तुलनामा न्यून हुँदै गइरहेको थियो । चालू आवमा भने नेपालमा भारतभन्दा बढी मुद्रास्फीति देखिन थालेको छ । यसले नेपालको निर्यात गर्ने वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने जोखिम बढाएको आचार्यको विश्लेषण छ । अहिले भारतको मुद्रास्फीति ५.४८ प्रतिशत हुँदा नेपालमा ५.६ प्रतिशत पुगेको छ ।
दुई खर्ब नाघ्यो शोधनान्तर, पाँच खर्ब भित्रियो रेमिट्यान्स
देशभित्र वस्तु तथा सेवाको माग अपेक्षाकृत वृद्धि नहुँदा बाह्य क्षेत्रको सुविधा चुलिँदै गइरहेको छ । बाह्य क्षेत्रको प्रमुख सूचक शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा गएको छ । गत आवको सोही अवधिमा यो एक खर्ब ५० अर्ब २४ करोडले बचतमा थियो । अमेरिकी डलरमा भने एक अर्ब ५३ करोड डलरले बचतमा छ । गत आवको सोही अवधिमा एक अर्ब १३ करोडले बचतमा थियो । त्यस्तै, चालू खाता एक खर्ब ४३ अर्ब ४२ करोडले बचतमा पुगेको छ । गत आवको सोही अवधिमा चालू खाता ९७ अर्ब १० करोडले बचतमा थियो ।
रेमिट्यान्स आप्रवाहमा ९.१ प्रतिशतले बढेर पाँच खर्ब २१ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २२.५ प्रतिशतले बढेको थियो । गत आवको सोही अवधिमा चार खर्ब ७८ अर्ब रेमिट्यान्स पुगेको थियो ।
समीक्षा अवधिमा पाँच अर्ब ७६ करोड प्रत्यक्ष वैदेशिक (इक्विटी मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह तीन अर्ब ६५ करोड मात्रै थियो । विदेशी मुद्राको सञ्चिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म यो २० खर्ब ४१ अर्ब १० करोड मात्रै थियो ।