सञ्चालनमा आएको वर्ष दिनसम्म कैलालीको गेटा अस्पतालमा आकस्मिक सेवा सुरु हुन सकेको छैन । शल्यक्रिया कक्ष र आइसियू नभएको भन्दै अस्पतालले आकस्मिक कक्ष सञ्चालनमा नल्याएको हो । आकस्मिक कक्ष नहुँदा बिरामीले अस्पतालबाट आकस्मिक सेवा पाएका छैनन् ।
सरकारले गेटामा मेडिकल शिक्षा र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार दुई वर्षअघि नै निर्माण गरेको छ । स्थानीयको व्यापक दबाबपछि गत वर्ष कात्तिकबाट ५० शय्याको अस्पताल सञ्चालन गरिए पनि जनशक्ति र उपकरणको अभावमा अस्पतालले सेवा विस्तार गर्न सकेको छैन । आइसियू र मोडुलर शल्यक्रिया कक्ष निर्माणको क्रममा रहेकाले आकस्मिक सेवा सुरु गर्न नसकिएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । उनले शल्यक्रिया कक्षसँगै १२ शय्याको आइसियू निर्माणको काम अगाडि बढेको जानकारी दिए ।
डा. विप्लव सापकोटा, कन्सल्टेन्ट ओपिडी सर्जन
आइसियू र मोडुलर अप्रेसन कक्ष बन्दै छ, त्यसको काम सकिएपछि आकस्मिक सेवा सुरु गर्छौँ । आइसियू, शल्यक्रिया र इमर्जेन्सी सेवा सुरु भएपछि बिरामीको संख्या पनि बढ्ला ।
अस्पतालले गत ३१ साउनदेखि अन्तरंग सेवा सुरु गरेको थियो । बिरामीका लागि ३५ वटा शय्या राखिएका छन् । तर, हालसम्म बिरामी भर्ना नभएका सूचना अधिकारी कार्कीले बताए । ओपिडीमा भने दैनिक ५० जनासम्मले सेवा लिइरहेका अस्पतालले जनाएको छ । अस्पतालमा मध्यम खालको शल्यक्रिया गर्ने सुविधा छ । अस्पताल प्रशासनका अनुसार हालसम्म चारवटा सामान्य शल्यक्रिया गरिएको छ । ‘आइसियू र मोडुलर अप्रेसन कक्ष बन्दै छ, त्यसको काम सकिएपछि आकस्मिक सेवा सुरु गर्छौँ,’ कन्सलटेन्ट ओपिडी सर्जन डा. विप्लव सापकोटाले भने, ‘आइसियू, शल्यक्रिया र इमेर्जेन्सी सेवा सुरु भएपछि बिरामीको संख्या पनि बढ्ला ।’ आइसियू र शल्यक्रिया कक्ष नहुँदा अहिले जटिल प्रकृतिका बिरामी भर्र्ना गर्न नसकिएको उनले बताए ।
सरकारले ५० शय्याको गेटा अस्पतालका लागि चिकित्सकसहित १४१ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । तर, अहिले ९४ जना कार्यरत रहेका अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य मन्त्रालयले स्वीकृत अस्थायी दरबन्दी पनि यस वर्ष नवीकरण नगरेको अस्पताल प्रशासनले जनाएको छ । ‘अस्थायी दरबन्दी हरेक वर्ष रिन्यु हुनुपर्ने हो, तर मन्त्रालयले चालू वर्षको रिन्यु गरेको छैन,’ सूचना अधिकारी कार्कीले भने, ‘दरबन्दी रिन्यु नभए पनि तलब रोकिएको छैन ।’
अस्पतालमा केही आधुनिक उपकरण जडान गरिएका छन् । सबै प्रकारका अल्ट्रासाउन्ड, इसिजी, भिडियो एक्सरे, इन्डोस्कोपी, लिभर, किड्नी, थाइराइड, सुगर जाँचलगायत प्रयोगशालाको सुविधा अस्पतालमा छ । ६ सय शय्याको अस्पताल र मेडिकल शिक्षा सञ्चालन गर्ने उद्देश्यसहित गेटामा मेडिकल कलेजका नाममा करिब ६ अर्ब रुपैयाँका संरचना निर्माण गरिएका छन् । सरकारले भने गेटालाई ५० शय्याको अस्पतालमा सीमित गरेको छ । स्थानीयको दबाबपछि सुरु गरिएको अस्पतालमा जनशक्ति थप र सेवा विस्तारमा ढिलाइ भइरहेको छ । गेटामा तीन सय शय्याको अस्पताल र त्यसका लागि आवश्यक जनशक्ति स्वीकृतिका लागि यसअघि नै मन्त्रालयसँग माग गरिएको अस्पतालका कन्सलटेन्ट ओपिडी सर्जन डा. सापकोटाले बताए ।
राज्यको करोडौँ लगानीमा निर्माण गरिएका पूर्वाधार अलपत्र अवस्थामा छन् । गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय सरकारले गत वर्ष गरेको थियो । स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको कानुन भने निर्माण भइसकेको छैन । यससम्बन्धी विधेयक प्रतिनिधिसभामा विचाराधीन छ ।
एउटा पनि मेडिकल कलेज नरहेको सुदूरपश्चिममा मेडिकल कलेजका लागि निर्मित संरचना पनि अलपत्र परेपछि यहाँका स्थानीय निराश छन् । विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढाएर तत्काल तीन सय शय्याको अस्पताल र मेडिकल शिक्षाको पठनपाठन सुरु गर्नुपर्ने माग गर्दै स्थानीयले दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
आइसियू र मोडुलर अप्रेसन कक्ष बन्दै छ, त्यसको काम सकिएपछि आकस्मिक सेवा सुरु गर्छौँ । आइसियू, शल्यक्रिया र इमर्जेन्सी सेवा सुरु भएपछि बिरामीको संख्या पनि बढ्ला ।