अमेरिकाको क्यालिफोर्नियास्थित सेजल आइटीले नेपाल राष्ट्रिय महिला फुटबल टोलीका सदस्य अमिशा कार्की र गीता रानालाई सम्मान गरेको छ।
बिहीबार ललितपुरमा सेजलका प्रमुख शंकर केसीले उनीहरूलाई ७५ हजार रुपैयाँसहित सम्मान गरेका हुन्। सम्मान कार्यक्रम नेपाल फुटबल खेलाडी संघको सहकार्यमा भएको हो।
नेपाल पछिल्लो दुई संस्करणको साफ महिला च्याम्पियनसिपमा उपविजेता हुँदा दुवै खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका थिए। अमिशा नेपाल आर्मीमा आबद्ध छिन्। भर्खरै उनी सहायक सेनानीमा नाम निकाल्न सफल भएकी थिइन्। गीता एपिएफ क्लबमा आबद्ध छिन्।
अमिशाले सम्मान गरेर हौसला प्रदान गरेकोमा धन्यवाद दिइन्। खेलाडी संघका अध्यक्ष विक्रम लामाले यस्ता कार्यक्रमले खेलाडीलाई हौसला प्रदान गर्ने बताए।
सम्मान कार्यक्रममा प्रशिक्षक सुनील श्रेष्ठ र किशोर केसीको पनि उपस्थिति थियो।