युक्रेनको जापोरिजिया क्षेत्रका दुई भवनमा भएको रुसी आक्रमणमा परी १० जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बिहीबार बताएका छन् । दक्षिणी युक्रेनमा भएको आक्रमणको तीव्र शृंखलामा मंगलबार भएको यो पछिल्लो आक्रमणमा १० जनाको मृत्यु भएको २२ जना घाइते भएका छन् ।
भग्नावशेषमुनि एक महिलाको शव फेला परेपछि मृत्यु हुनेको संख्या १० पुगेको क्षेत्रीय गभर्नर इभान फेडोरोभले जानकारी दिए। गभर्नरका अनुसार आक्रमणबाट मध्यजापोरिजियामा रहेको एक क्लिनिक र एउटा कार्यालय भवनमा व्यापक क्षति पुगेको उनले टेलिग्राममा बताएका छन् ।
गत शुक्रबार पनि जापोरिजियामा भएको रुसी आक्रमणमा १० जनाको मृत्यु भएको थियो । मस्कोले बुधबार युक्रेनको दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको सैन्य हवाई क्षेत्रमा पश्चिमा मुलुकले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाउँदै युक्रेनविरुद्ध प्रतिशोध लिने रुसले चेतावनी दिएको थियो । एक अमेरिकी अधिकारीले रुसले चाँडै नै युक्रेनलाई आफ्नो नयाँ हाइपरसोनिक ‘ओरेसनिक’ क्षेप्यास्त्रले निशाना बनाउन सक्ने बताएका छन् ।