स्टार्टअप उत्पादन रोजगार कार्यक्रम सञ्चालन गर्न उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयले सम्झौता गरेका छन् । विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एन्ड इनोभेसन कार्यक्रमको माध्यमबाट युवाहरूलाई उद्यमशीलता रूपान्तरण र इकोसिस्टम विकास गर्ने संघीय सरकारको उक्त कार्यक्रमलाई बढावा दिन उद्योग संगठन मोरङ र पूर्वाञ्चल विश्वविद्यालयबिच सम्झौता भएको हो ।
उद्योग संगठनका तर्फबाट स्टार्टअप एन्ड इनोभेसन कार्यक्रम संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट फेकल्टी अफ म्यानेजमेन्टका डिन डा. सन्देशदास श्रेष्ठले हस्ताक्षर सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
उद्यमशीलता विकासका लागि निजी क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गरेर आफूहरूलाई उत्साहित बनाएको संगठनका कार्यक्रम संयोजक गोल्छाले बताए ।
संगठन र विश्वविद्यालयबिच भएको सम्झौताअनुरूप कार्यक्रमलाई ट्रिपल हेलेक्स पद्धतिअनुसार निजी र शैक्षिक क्षेत्र स्थानीय सरकारको सहकार्य अनि र संघीय सरकारको सहयोगमा सञ्चालन हुनेछ । विराटनगरमा स्थापना हुने व्यवसाय संवर्द्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी बताउँछन् ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति बिजु थपलियाले युवाहरूलाई उद्यमशीलतातर्फ आकर्षित गर्न संवर्द्धन केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकताअनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरी थप प्रभावकारी बनाउने बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले सातै प्रदेशमा युवा उद्यमशीलता प्रवर्द्धनका लागि संवर्द्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका गर्न लागेको र निजी क्षेत्रसँग मिलेर यसलाई सफल बनाउन लागिपरेको बताए ।
विश्वविद्यालयका फेकल्टी अफ म्यानेजमेन्टका डिन सन्देशदास श्रेष्ठले कार्यक्रमअन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्बन्धनप्राप्त कलेजबाट ३० वटा आइडिया एक आइडियामा तीनजना रहने गरी ९० जना विद्यार्थीलाई छनाेट गर्ने र दोस्राे चरणमा ९० जनाबाट ३० जना छनाेट गरी सात महिनासम्म संवर्द्धन केन्द्रको माध्यमबाट स्टार्टअप इकोसिस्टमका सेवाहरू उपलब्ध गराइनेछ ।