पोखराको टेनिस सेन्टरमा चलिरहेको आइटिएफ जे ३० वल्र्ड टेनिस टुर सर्किट २ मा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । पुरुष एकलमा आरभसम्राट हाडा क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आरभले प्रिक्वार्टरफाइनलमा चीनका केजुन डेङलाई २–० को सहज सेटमा हराए । महिला एकलमा सुनिरा थापा र शिवाली गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम आठको स्थान पक्का गरेका छन् ।
सुनिराले भारतकी वृन्दिका भगवत राजपूतलाई २–० को सेटमा हराइन् । शिवालीले प्रिक्वार्टरफाइनलमा भारतकी श्रेया देशपाण्डेलाई २–० ले पराजित गरिन् । पुरुष एकलमा नेपालका आयुष्मान हजुर घले भारतीय खेलाडी आश्रव्य मेहरबाट सोझो सेटमा पराजित भए । चीनका हैनुओ गुआले नेपालका सक्षमविक्रम शाहलाई २–१ को सेटमा पराजित गरेका छन् ।
पहिलो सेट ६–२ ले जितेका सक्षमले त्यसपछि राम्रो खेल्न सकेनन् । उनी लगातार दुई सेटमा ६–३ र ६–४ ले पराजित भए । भारतका ओजस मेहलावतले नेपालका प्रणव मानन्धरलाई सोझो सेटमा हराए । पुरुष एकलमा भारतीय खेलाडीका दबदबा रहेको आयोजकले जनाएको छ । चीनका सियुयुआन गुआ र अस्ट्रेलियाका
प्रतीक नवीनले क्वार्टरफाइनलमा यात्रा तय गरेका छन् । सियुयुआनले भारतका आरुष भल्लालाई सीधा सेटमा हराए । पुरुष एकलमै प्रवीर मुकेश (भारत)ले प्रकाश सारन (भारत) लाई हराए ।
नेपालका शिवाली गुरुङ र सुनिरा थापाको जोडी सेमिफाइनलमा पुगेको छ । थापाको जोडीले भारतका महिका खन्ना र शाताक्षिका सहायाकलाई २–० ले हरायो । चोगसोमजाभ (मंगोलिया) र यिजिया झाओ (चीन)को जोडीले स्वस्तिका विष्ट (नेपाल) र अपारा खन्दारे (भारत) लाई हरायो । प्रतियोगिताको १२ देखि १८ वर्षसम्मको उमेर समूहका विजेताले ३० अंक र उपविजेताले १८ अंक पाउनेछन् । प्रतियोगिता २९ मंसिरसम्म चल्नेछ ।