काभा पुरुष क्लब च्याम्पियनसिप : हेल्प नेपाल सेमिफाइनलमा

बिहिबार, २७ मंसिर, २०८१
डिजिटल संस्करण

नेपालको हेल्प नेपाल स्पोर्टस् क्लबले लगातार तेस्रो जित निकाल्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनल स्थान सुरक्षित गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बुधबार हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ को सेटमा हराउँदै अन्तिम चारको स्थान पक्का गरेको हो । हेल्प नेपालले तीन खेलबाट ८ अंक जोडेको छ । हेल्प नेपालले भारतको क्यालिकट हिरोजलाई ३–२ तथा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएको थियो । 

लगातार तेस्रो खेलमा हार व्यहोरेको एचडिसीले चार खेलबाट ३ अंक बनाएको छ । एचडिसीले यसअघि गण्डकीलाई ३–२ को सेटमा पराजित गरेको थियो । एचडिसीले इरानको यू–१८ टोलीसँग ३–२ र क्यालिकटसँग ३–० ले पराजित भएको थियो । एचडिसीविरुद्ध पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २४–२६ ले गुमाएको थियो । त्यसपछिका दुई सेट २५–१९, २५ –२१ ले आफ्नो पक्षमा पार्दै हेल्प नेपालले अपराजित यात्रा जारी राखेको हो । 

हेल्प नेपाल र माल्दिभ्सको क्लबबिच दोस्रो सेटमा कडा प्रतिस्पर्धा भएको थियो । दोस्रो सेटको अन्तिम समयमा सामान्य गल्ती गर्दा हेल्प नेपाल २४–२६ ले पछि पर्यो । दुई सेटको समाप्तिमा  खेल १–१ को बराबरीमा रह्यो । तेस्रो सेटमा उत्कृष्ट कमब्याक गर्दै हेल्प नेपालले २५–१९ ले जित्यो ।

उत्कृष्ट लयलाई निरन्तरता दिँदै हेल्प नेपालले चौथो सेट २५–२१ ले हात पार्यो । दिनको पहिलो खेलमा इरानले क्यालिकटलाई ३–० को सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । बिहीबार हेल्प नेपालले इरान तथा गण्डकीले क्यालिकटको सामना गर्नेछन् ।

See More On

सुझावित समाचार