अर्थ समितिमा वर्षमानको प्रश्नः नियामक निकायमा सरकारसँग ट्युनिङ मिल्नेहरू हुँदा पनि अर्थतन्त्रमा किन सुधार भएन ?

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र चलायमान बनाउन सरकार चुकेको बताएका छन्। प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै बुधबार उनले सरकारले लगानीकर्तालाई विश्वासमा लिन नसकेका कारण अर्थतन्त्रको शिथिलता अन्त्य हुन नसकेको बताए। 

सरकार नियामक निकायका पदाधिकारीहरू वर्तमान सरकारको नेतृत्वमा रहेका दलसँग ट्युनिङ मिल्ने व्यक्तिहरू नै रहेको चर्चा गर्दै उनले त्यसका परिणाम अर्थतन्त्रमा देख्न नपाइएको उल्लेख गरे। ‘नेपाल राष्ट्रबैंक, धितोपत्र बोर्ड र बिमा प्राधिकरणजस्ता नियामक निकायले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्छन्,’ पुनले प्रश्न गरे, ‘ती निकायको नेतृत्वमा अहिलेको सरकारसँग ट्युनिङ मिल्नेहरू नै छन्। तर, किन रिजल्ट आएन? आन्तरिक र बाह्य लगानीकर्तामा कन्फिडेन्स किन छैन?’ उनले बैठकमा सहभागी अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई त्यस विषयमा गम्भीर बन्न आग्रह गरे। 

पुनले आफू अर्थमन्त्री भएका वेला बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको नागरिकताबारे प्रश्न उठेपछि राजीनामा मागे पनि उनले नियामक निकायका नाममा आफ्नो आग्रह अस्वीकार गरेको बताए। नागरिकतामा फरक-फरक तीनवटा मिति फेला परेपछि सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुद्दा दायर गरेको छ। 
अर्काे प्रसंगमा पुनले प्राथमिकता निर्धारणका नाममा सरकारले पूर्ववर्ती सरकारले अघि सारेका ठुला विकास आयोजनाका बजेट कटौती गर्ने तयारी गरेको सुन्नमा आएको भन्दै त्यसो नगर्न सचेत गराए। ‘नयाँ प्राथमिकता निर्धारण गर्ने नाममा मैले अघि सारेका ठुला आयोजनाको बजेट कटौती गर्ने तयारी भइरहेको छ भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘यस्तो तरिकाले खर्चको प्याटन बिगार्छ। बजेटमा राखिएका आयोजनाको कार्यान्वयन गरिनुपर्छ।’ 

पुनले निष्पक्ष भएर काम गर्दा मात्र व्यावसायिक र लगानीमैत्री वातावरण बन्ने भन्दै मनोमानी नगर्न सरकारलाई चेतावनी दिएका छन्। 
 

सुझावित समाचार