सिरियाली सत्तापलटमा बसर आफैँ जिम्मेवार

बुधबार, २६ मंसिर, २०८१
डिजिटल संस्करण

इरान र रुसी सहयोगी आफ्नै समस्याले जेलिएका अवस्थामा असदको पतन सहज बने पनि यसका मूल कारक बसर आफैँ हुन्

सिरियामा हाफिज अल–असदले सत्ताकब्जा गरेको ५४ वर्षपछि त्यहाँका विद्रोहीले उनका उत्तराधिकारी एवं छोरा बसर अल–असदले छिन्नभिन्न बनाएको सत्ताको अन्त्य गरेका छन् । इरान र रुसी सहयोगी आफ्नै समस्याले जेलिएका अवस्थामा असदको पतन सहज बन्यो, तर यो पतन मूलतः उनकै कमजोरीले भएको हो । परजीवी अर्थतन्त्र र कठोर राजनीतिक प्रणालीलाई सुधार गर्न अक्षम बसर एक कमजोर नेता हुन् । वास्तवमा उनलाई नेतृत्वका लागि तयार पारिएकै थिएन । उनका दाजु बासिललाई उत्तराधिकारी बनाइएको थियो । तर, सन् १९९४ मा बासिलको निधनपछि लन्डनमा आँखा चिकित्साको अध्ययन गरिरहेका बसर स्वदेश फर्कनुपरेको थियो ।

सन् २००० मा बसरका लागि बलियो र स्थिर सिरिया छाडेर हाफिजको निधन भयो । त्यसवेला सिरियाको अमेरिकासँग टकराव थिएन । १९९१ मा यसले इराकबाट कुवेतको मुक्तिमा सहयोग गरेपछि शान्तिका लागि साझेदार बनेको थियो । यो अवस्थामा पश्चिमा विश्वको अनुभव लिएका बसरले सन् १९६३ देखि सत्तामा रहेको बाथ पार्टीलाई उदार बनाउने आशा जन्मेको थियो । सुरुमा बसर सुधारकको भूमिकामा देखा परेका थिए, जहाँ उनले राजनीतिक बन्दीलाई रिहा गरेर बौद्धिक छलफललाई प्रोत्साहन गरेका थिए ।

समयक्रममा बसर आफ्नो सुधारवादी छविबाट पछि हटे, असहमतिमाथि दमन हुन थाल्यो र भ्रष्टाचार व्यापक बन्यो । जनताको असन्तोष मोड्न उनले विदेशी दुस्मनलाई दोषी ठहर्याएर यहुदीले यशुलाई धोका दिएको आरोप लगाए र जिहादीलाई इराकमा अमेरिकीसँग भिड्न यात्रा अनुमति दिए । उनले आफ्ना बुबाको क्रूर शैली अनुसरण गर्दै लेबनानी प्रधानमन्त्री रफिक हरिरीलाई ‘लेबनान टुक्य्राउने’ धम्की दिँदै हेजबुल्लाहसँग मिलेर उनको हत्या गर्ने षड्यन्त्रसमेत रचे । बसरको बाथ पार्टीले अल्पसंख्यकलाई एकत्रित गरी ६४ प्रतिशत जनसंख्या रहेका अरब सुन्नी समुदायलाई दबाएको थियो । यसले प्रान्तीय सुन्नीलाई पनि आकर्षित गरेको थियो, जो लामो समयदेखि सहरी कुलीनबाट विभेदको सामना गर्दै आएका थिए । यस्तो अवस्थामा कुनै पनि सुधारले जनसंख्याको करिब १२ प्रतिशत हिस्सा रहेको सिया पन्थका अलवी समुदायको वर्चस्वलाई जोखिममा पार्न सक्थ्यो । 

सन् २००६ सम्ममा सिरियाका पश्चिमा समर्थकले समेत बसरलाई साथ दिन छाडिसकेका थिए । फ्रान्सका राष्ट्रपति ज्याक सिराकले उनलाई ‘सुरक्षा र शान्ति कायम गर्न अक्षम’ भन्दै आलोचना गरेका थिए । उनलाई ‘दृष्टिविहीन आँखा चिकित्सक’ भनेर उपहास गरियो । सन् २०११ मा सुरु भएको अरब वसन्तको लहर सिरियामा पनि फैलिनु स्वाभाविक थियो । तर, बसर सिरियाली जनताका गुनासाबारे अनजान थिए वा तिनलाई अनदेखा गरे । विद्रोहअघि उनले वाल स्ट्रिट जर्नललाई ‘हामी अरब वसन्तबाहिर छौँ’ र सिरिया ‘स्थिर’ छ भन्ने दाबी गरे । उनले आफू ‘जनविश्वाससँग निकट रहेको’ बताएका थिए । तर, ग्रामीण जनाधारले उनलाई छाडेपछि प्रदर्शन सुरु भयो । विद्रोह दबाउन असद ग्रामीण समस्यालाई कहिल्यै आफ्नो नमान्ने सहरी कुलीन वर्ग र श्रमिक वर्गमा भर परे ।

बसरले विद्रोहबाट जोगिन रुसी हवाई समर्थन र इरान समर्थित लडाकु समूह विशेषतः हेजबुल्लाहको सहारा लिएका थिए । वर्षौंको संघर्षपछि बसर बहुसंख्यक सिरियाली जनता बसोवास गर्ने उत्तरको अलेप्पोदेखि दक्षिणमा दमास्कससम्मका महत्वपूर्ण क्षेत्रमा नियन्त्रण जमाउन सफल भए । तर, बसरले पुनरागमनपछिको दोस्रो अवसर गुमाए । राजनीतिक सुधारमा असफल भएपछि स्रोत वितरण र पुनर्निर्माणमा ध्यान केन्द्रित गर्न उनका समर्थकले आर्थिक परिवर्तनको माग गरेका थिए । तर, एक माफियाजस्तो सत्ताले आफ्ना आसेपासेको लाभलाई कहिल्यै त्याग्न सक्दैन, भलै यस्ता सुधारले सामाजिक सद्भाव ल्याओस् । बसर सत्ताले व्यवसायीबाट घुस र विदेशीलाई शोषण गर्ने काम गर्यो । विश्व खाद्य कार्यक्रमले सिरियाली बन्दरगाहमा घुस नदिँदा चामलको आपूर्ति भण्डारण नै कुहियो । यसैगरी बसरका काकाले अमेरिकी कूटनीतिज्ञलाई आफूलाई बिक्री एजेन्ट बनाएपछि मात्र सिरियाले बोइङ विमान खरिद गर्ने बताएका थिए ।

स्रोतको सक्दो दोहन गर्दै बसर सत्ताले खुला बजार आर्थिक मोडेल तयार गर्यो, जहाँ समाजलाई अनुदान प्राप्त वस्तुबाट सन्तुष्ट पार्दै आफूलाई भ्रष्टाचारबाट समृद्ध बनायो । तर, आन्तरिक राजस्व आधार घटेपछि र विदेशी शोषणको अवसर सकिएपछि सिरियाले कानुनी व्यापारभन्दा दुई गुणा बढी ‘अम्फेटामिन क्याप्टागन’ लागुऔषधको अवैध निर्यातबाट आम्दानी गर्न थाल्यो । अर्थतन्त्र संकुचित हुँदै गर्दा भएको अनुदान कटौतीले दैनिक आवश्यक वस्तु सामान्य मजदुरी गर्नेको पहुँचबाहिर पुग्यो । आज सिरियाली घरपरिवारका करिब ७० प्रतिशतले आफ्ना आधारभूत आवश्यकता पूरा गर्न सक्दैनन् । विपन्न तप्का मात्र नभई बसरको सत्ताले आफ्नै सत्तालाई समर्थन गर्दै आएका उद्यमी र व्यवसायी नेतालाई पनि पीडित बनायो । 

उदाहरणका लागि सामेर अल–डिब्स सत्तानजिकका कुलीन वर्गका सदस्य थिए र कागज उद्योगदेखि बैंकिङसम्मका क्षेत्रमा संलग्न थिए । तिनै अल–डिब्सलाई यही जुलाईको संसदीय निर्वाचनमा बसर सत्ताले १७ वर्षदेखि जित्दै आएको सिटबाट चुनाव लड्न वञ्चित गर्यो । नतिजा उनले व्यवसाय फैलाउन प्रयोग गर्ने विशेषाधिकार खोसियो । र, जब विद्रोहीले आक्रमण गरे अल–डिब्सजस्ता व्यक्तिले सत्ताको समर्थन गर्न इन्कार गरे । त्यसैगरी इरान र रुसजस्ता बसर सत्ताका समर्थक जो इजरायल र युक्रेनका संघर्षमा व्यस्त थिए, तिनले पनि बसरलाई जोगाउन सकेनन् । अन्ततः अहंकार र आर्थिक एवं राजनीतिक सुधारलाई आत्मसात् गर्न नसक्दा बसरको सत्ता पतन भयो ।

(बर्फी मध्यपूर्व मामिलाका अध्येता हुन्) प्रोजेक्ट सिन्डिकेटबाट
 

सुझावित समाचार