नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान संशोधन पारित भएको छ । महासंघको मंगलबार बसेको विशेष साधारणसभाले सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव अनुमोदन गरेको हो । संशोधित विधान मन्त्रिपरिषद्बाट स्वीकृति भएलगत्तै लागू हुनेछ ।
संशोधित विधान अबको एक कार्यकालपछि लागू हुनेछ । हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी कार्यसमितिमा स्वतः अध्यक्ष बन्न पाउनेछन् । त्यसपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गरिएको छ । सबैको सहमतिबाटै सर्वसम्मत रूपमा विधान संशोधन प्रस्ताव पारित भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । विशेष साधारणसभामा निर्णयार्थ प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव हलमा सबैले ताली बजाएर अनुमोदन गरेको वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।
यसअघि २० जेठमा बसेको महासंघको स्थायी समिति र २४ असारमा बसेको कार्यकारिणी समिति बैठकले आगामी दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने निर्णय गरेको थियो । महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य, हेमराज ढकाल र ज्योत्स्ना श्रेष्ठले अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था दुई कार्यकालपछि मात्र लागू गर्नुपर्ने अडान राख्दै आएका थिए । तर, उनीहरूले अपेक्षा गरेअनुसार नभए पनि विरोध पनि गरेका छैनन् । वैद्यले भने, ‘प्रत्यक्ष निर्वाचित अध्यक्षको हकमा अझै दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष नै स्वतः हुनुपर्ने भन्ने थियो, तर अब अञ्जन श्रेष्ठपछि नै अध्यक्षमा निर्वाचन हुने भयो । हलले पारित गरिसकेपछि यसमा विवाद गर्ने कुरा भएन । हामीले जिल्ला–नगरबाट एक वरिष्ठ उपाध्यक्षसहित दुई उपाध्यक्ष हुनुपर्ने माग राखेका थियौँ, तर वरिष्ठ राखिएन, दुई उपाध्यक्ष भने विधानमा व्यवस्था गरिएको छ ।’
महासंघ अध्यक्ष ढकालले विधान संशोधन सर्वसम्मत ढंगले हुनु संस्थाकै लागि ठुलो उपलब्धि भएको बताए । उनले भने, ‘यसले व्यवसायीहरू एकबद्ध रहेको सन्देश पनि गएको छ, संस्थालाई पनि थप बलियो बनाएको छ ।’
अब कार्यसमितिको कार्यकाल पनि दुई वर्षको हुनेछ । चण्डीराज ढकालले आफ्नो कार्यकाल (०६२–०६४) मा विधान संशोधन गरेर दुईवर्षे कार्यकाललाई तीन वर्षको बनाएका थिए । यस्तै, पहिलोपटक महासंघमा महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्ने व्यवस्था गरिएको छ । तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भए मात्र महिला उपाध्यक्ष चयन हुने महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए ।
जिल्ला–नगरतर्फ दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । महासंघमा ५० प्रतिशत मतभार रहेको जिल्ला–नगरतर्फ एक वरिष्ठसहित दुईजना उपाध्यक्ष हुनुपर्ने माग थियो । विधान संशोधन गर्दा जिल्ला–नगरतर्फ वरिष्ठ उपाध्यक्षको व्यवस्था नगरिए पनि दुईजना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ । अब महासंघको कार्यसमितिमा दुई जिल्ला–नगर, वस्तुगत, एसोसिएट र महिला गरी पाँचजना उपाध्यक्ष रहनेछन । यदि महासंघमा द्वि–राष्ट्रिय उद्योग वाणिज्य संघको सदस्य संख्या २० पुगेमा द्वि–राष्ट्रियतर्फ पनि एउटा उपाध्यक्ष हुने महासंघ अध्यक्ष ढकालले बताए ।
अब वरिष्ठ उपाध्यक्षको चयन कार्यकारिणी समितिले गर्ने पुरानै व्यवस्था लागू हुने भएको छ । यसबिचमा वरिष्ठ उपाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको थियो । वरिष्ठ उपाध्यक्ष पदमा उपाध्यक्ष भइसकेका वा कार्यसमितिमा तीन कार्यकाल बिताइसकेका बहालवाला कार्यकारिणी सदस्यले पनि चुनाव लड्न पाउनेछन् ।
महासंघको नेतृत्वका लागि चर्को अस्वस्थ प्रतिस्पर्धा भएको भन्दै ०७३ मा विधान संशोधन गरेर पशुपति मुरारकापछि वरिष्ठ उपाध्यक्षमा निर्वाचन गर्ने र निर्वाचित वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्थाबमोजिम वरिष्ठ उपाध्यक्ष बनेकी भवनी राणा पहिलोपटक स्वतः अध्यक्ष भएकी थिइन् । त्यसयता शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष भइसकेका छन् । अझै एक कार्यकाल हालका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष हुँदै छन् ।
‘अध्यक्षमा प्रत्यक्ष निर्वाचन गर्दा धेरै बेथिति–चलखेल बढ्यो भनेर वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचन गरी उसलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरिएको थियो,’ महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठले भने, ‘तर, वरिष्ठ उपाध्यक्षको निर्वाचनमा पनि उस्तै चलखेल दोहोरियो, यसैले प्रत्यक्ष निर्वाचित अध्यक्ष नै बनाउने भनेर पुरानै व्यवस्था दोहोर्याइएको हो ।’
यस्ता छन् व्यवस्था
१) कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठको अध्यक्षको कार्यकाल सकिएपछि दुई वर्षे कार्यकाल लागू हुनेछ ।
२) महिला उपाध्यक्ष रहने व्यवस्था हुनेछ । महिला उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ । तर, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य भए मात्र महिला उपाध्यक्ष चयन हुनेछ ।
३) वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष भएपछि अर्को कार्यकालमा अध्यक्षको प्रत्यक्ष निर्वाचन हुनेछ ।
४) एकजना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्ष चयन कार्यकारिणी समितिले गर्नेछ ।
५) जिल्ला–नगरतर्फ दुईजना उपाध्यक्ष रहनेछन् ।