अंग प्रत्यारोपण सोसाइटीहरूको आयोजनामा मानव अंग प्रत्यारोपण सम्मेलन, २०२४ हुने भएको छ। आगामी मंसिर २९ र ३० गते काठमाडौंमा ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ हुन लागेको हो।
‘विकासोन्मुख राष्ट्रहरूमा अंगदानलाई प्रवर्द्धन गरौँ’ भन्ने नारासहित सम्मेलन हुन लागेको हो। सम्मेलनमा भारत, बेलायत, अमेरिका, जापान र नेदरल्यान्डका १९ विज्ञले २६ वटा पेपर प्रिजेन्टेसन गर्ने जनाइएको छ।
अंग प्रत्यारोपण क्षेत्रका नयाँ खोज, प्रविधि र अभ्यासहरूको आदानप्रदानका लागि विशेषज्ञहरूलाई एकैठाउँमा ल्याउने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको आयोजक समितिको साइन्टिफिक कमिटीका अध्यक्षमा डा. ऋषिकुमार काफ्लेले जानकारी दिएका छन्। उनले भने, ‘अंग प्रत्यारोपणका क्षेत्रमा आफूले गरिरहेको कुरा बताउने, अरूले गरेका कुरा सुन्ने र एकैठाउँ बसेर कसरी नेपालमा अंग प्रत्यारोपण गर्ने भन्ने कुराको बहस यो सम्मेलनमा हुनेछ।’
सम्मेलनमा विदेशी विज्ञसँगै नेपाली चिकित्सक, प्राविधिक, पत्रकार र प्रत्यारोपण क्षेत्रमा सरोकार राख्ने गरी करिब ३०० जना सहभागी हुने आयोजक समितिका अध्यक्ष डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
यस्तै, सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन (एनइएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटिएस)बिच एकता हुने भएको छ। नेपालमा अंग प्रत्यारोपणमा काम गरिरहेका दुईवटा सोसाइटीबिच एकता गर्न लागेको बताइएको हो।