नेप्से र कारोबार रकम दुवै घट्यो

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला चार कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

मंगलबार नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इन्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इन्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे पाँच अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको बजारमा यस दिन ३०३ स्टकको ५२ हजार ७०५ पटकको कारोबारमा चार अर्ब ४१ करोड ३३ लाख २० हजार रुपैयाँबराबरको ८७ लाख ६८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

यस दिन जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ७.६७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन खानीखोला हाइड्रोपावरको सेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब सात प्रतिशत बढेको छ। कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य यस दिन सर्वाधिक ९.९० प्रतिशत घटेको छ। अन्य स्टकहरूको मूल्य गिरावटदर भने चार प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १८ करोड ९६ लाख २० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सानिमा माई हाइड्रोपावरको साढे १८ करोडभन्दा बढीको सेयर किनबेच भएको छ भने जानकी फाइनान्सको कारोबार रकम १७ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन चार उपसमूहको परिसूचक बढेको छ भने नाै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटेल तथा पर्यटन, उत्पादन तथा पर्यटन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। यस दिन जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक एक प्रतिशत घटेको छ। अन्य उपसमूहको गिरावट दर १ प्रतिशतभन्दा कम रहेको छ।
 

सुझावित समाचार