अस्ट्रेलियन अलराउन्डर विलियन बासिस्टोले ६ विकेट लिएपछि कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मंगलबार कीर्तिपुर मैदानमा कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए। पोखरा १६.३ ओभरमा अलआउट हुँदा मात्र १०३ रन बनाउन सक्यो। बासिस्टो चम्किएपछि पोखराका कुनै पनि खेलाडीले ठुलो साझेदारी गर्न सकेनन्। बासिस्टोले ४ ओभरमा २८ रन खर्चिएर ६ विकेट लिए।
सन् २०१२ मा अस्ट्रेलियालाई यू–१९ विश्वकपमा उपविजेता बनाएका कप्तान बासिस्टो एनपिएलको एकै खेलमा ६ विकेट लिने एक्ला खेलाडी हुन्। उनी एनपिएलमा तेस्रो खेल खेल्दै छन्। उनको नाममा एक अर्धशतक पनि छ।
पोखराका लागि ओपनर दिनेश खरेलले १९ बलमा सर्वाधिक २६ रन बनाए। ओपनर आन्द्रेस गौसले १२ बलमा चार चौका र एक छक्कासहित २५ रन बनाए। अन्तिम खेलमा लुम्बिनीविरुद्ध शतक बनाएका अमेरिकन ओपनर गौसलाई विपिन शर्माले विलियम बासिस्टोबाट क्याच आउट गराएका थिए। अर्का १० रन बनाएका कप्तान तथा मार्की कुशल भुर्तेललाई अस्ट्रेलियन यू–१९ टिमका पूर्वकप्तान बासिस्टोले आफ्नो बलमा क्याचआउट गराए।
नाै बल खेलेका म्याट क्रिच्लेलाई बासिस्टोले नै बोल्ड गरिदिए। तीन रन बनाएका दिलीप नाथ पनि बासिस्टोको बलमा अर्जुन घर्तीबाट क्याचआउट भए। दुई रन बनाएका माइकल लेस्कलाई दुई रन बनाउँदा बासिस्टोले नै बोल्ड गरेका हुन्।
विलियम बासिस्टोले सर्वाधिक सर्वाधिक ६ विकेट लिए। उनले १४औँ ओभरमा तीन विकेट झारेका थिए। १३.१ मा दिलीप, १३.३ मा लेस्क र १३.६ ओभरमा नारायणको विकेट लिएका थिए। सोहेल तानविर, नरेन साउद तथा हर्ष ठाकरले यसअघि पाँच विकेट लिएका थिए। छैटौँ विकेटको रूपमा बासिस्टोले २० रन बनाएका रेमन रेइफरलाई विकेटकिपर वाल्टनबाट क्याच गराए।
कप्तान तथा मार्की सोमपाल कामी, युनिसविक्रम ठकुरी र विपिन शर्माले समान एक विकेट हात पारे। चार ओभर बल फालेका जिसन मक्सुद ११ रन खर्चिए पनि विकेटविहीन भए।
कर्णालीले चार खेल खेलर स्वदेश फर्किएका भारतीय चर्चित खेलाडी शिखर धवनको स्थानमा बाबर हायातलाई खेलाएको छ।
आज नै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले हराएको थियो।