बदलिँदै शासन शक्ति

मंगलबार, २५ मंसिर, २०८१
डिजिटल संस्करण

शासकीय शक्ति ओहोदाले होइन, क्षमताले प्राप्त हुने भएकाले लोकतान्त्रिक शासनमा क्षमताशील नेतृत्वको खोजी हुन्छ

राज्यले नागरिकमाथि शासन गर्न शक्ति आर्जन गर्ने परम्परागत तरिकाहरू बदलिएका छन् । परम्परागत राज्यले राजनीतिक स्रोत, प्रशासनिक संरचना, सैनिक संयन्त्र, स्रोत परिचालन, कूटनीति तथा नागरिक सुरक्षामार्फत शासन गर्ने गर्थ्यो । राज्य नागरिकको हितरक्षक संस्था (गुठी) हो । आफ्नो हितरक्षा गर्न नागरिकले आफ्नो संस्था निर्माण गरेका हुन् । राज्य निर्माणपछि शासन प्रक्रियाका दुुई पात्र राज्य जवाफदेहिता निर्वाह गर्ने (ड्युटी होल्डर) र नागरिक जवाफदेहिता माग गर्ने (राइट होल्डर) पक्ष बने । यस अर्थमा नागरिकका आवश्यकता र अपेक्षा पूरा गर्नु राज्यको पहिलो र अन्तिम दायित्व हो ।

आधुनिक उदारवादी राज्यले राजनीतिक स्रोत परिचालन गरेर जनभावनालाई क्रियाशील पार्छ । लोकतन्त्र भन्नु नै राजनीतिक स्रोत परिचालन गर्ने विधि हो । नागरिक भावना र सामाजिक विविधताको संयोजन गर्न राजनीतिक संस्था क्रियाशील हुन्छन् । राजनीतिक स्रोत परिचालन गर्न परिवर्तनलाई नेतृत्व गर्ने, मानिसलाई नेतृत्व गर्ने, नतिजा उत्पादन गर्ने, समझदारी निर्माण गर्ने र राष्ट्रिय एकता अनि एकत्वको भावनामा सबै नागरिकलाई बाँध्न सक्ने सामथ्र्य नेतृत्वमा हुनुपर्छ । राजनीतिक प्रणालीबाट यी कुरा सिद्ध गर्न सक्ने क्षमता भएमा शासन प्रणालीले दरिलो शक्ति आर्जन गर्छ । शासकीय शक्ति ओहोदाले होइन, क्षमताले प्राप्त हुन्छ । त्यसैले लोकतान्त्रिक शासनमा क्षमताशील नेतृत्वको खोजी हुन्छ । क्षमता र निष्ठाका नेतृत्वले राजनीतिक प्रक्रियालाई व्यवस्थित गर्ने हुँदा राज्य सशक्तीकृत हुन्छ र राज्य प्रक्रियालाई सर्वसाधारणले अन्तरबोध गर्छन् । सामाजिक वास्तविकतालाई टिपेर राज्य प्रक्रियामा उन्नयन गर्ने काम जुन स्तरमा हुन्छ, राजनीतिक स्रोत त्यसैको सापेक्षमा परिचालित हुन्छ र राज्यले शासन गर्ने शक्ति आर्जन गर्छ ।

प्रशासनिक संरचना राज्यको परम्परागत स्थायी शक्ति हो । प्रशासनिक संरचना निर्माण तथा उपयोग गरेर राज्य इच्छाको कार्यान्वयन गरिन्छ । प्रशासनिक विस्तार (पेनेट्रेसन) ले राज्य इच्छालाई संस्थागत गर्छ । सेवा र सुरक्षा दिने राज्यको लामो हात नै प्रशासन हो । आधुनिक राज्य प्रणालीमा प्रशासनको परम्परागत कार्यक्षेत्र र शैली परिवर्तन भएको छ । प्रशासनलाई जनविश्वास आर्जन गर्ने निष्पक्ष संयन्त्रका रूपमा उपयोग गरिन्छ । राज्यले प्रशासनमार्फत पुँजी, प्रविधि र नागरिक इच्छा संयोजन–प्रशोधन गरी आफूलाई मजबुत बनाउँछ । यो संयन्त्र राज्यशक्तिको जीवन्त रूप हो । प्रशासनिक संयन्त्रको गतिशीलताले राज्यले गति, प्रगति र ऊर्जा पाउँछ । यसलाई व्यावसायिक र स्वचालित बनाउन राज्य सञ्चालक सतत सक्रिय रहनुको विकल्प छैन ।

सैनिक संयन्त्र राज्यले शक्ति आर्जन गर्ने परम्परादेखिको संयन्त्र हो । परम्परागत राज्यले सीमा र सार्वभौमिक अखण्डताको प्रतिरक्षा र राज्यविस्तारका लागि यसलाई प्रयोग गर्थ्यो । यस शक्तिका भरमा मात्र शासन चल्न सक्दैन भन्ने वंशीय निरंकुश र निर्वाचित निरंकुश शासकले बुुझेका छन् । नागरिक सर्वोच्चतामा मात्र सैनिक शक्तिको अर्थवत्ता देखिन्छ भन्ने हालै दक्षिण कोरियामा र केहीअघि बंगलादेश, श्रीलंकामा सिद्ध भयो । पाकिस्तान, म्यानमार, उत्तर कोरियामा पनि ढिलोचाँडो यस तथ्यको पुष्टि हुनेछ । आधुनिक राज्यले सैनिक वा प्रतिरक्षा संयन्त्रलाई त्यति धेरै महत्व दिँदैन । राज्यको भौगोलिक सीमाभन्दा भर्चुअल सीमा विस्तार भएको छ । यसले राज्यका कार्यक्षेत्रका अदृश्य आयाम उद्घाटन गरेको छ । त्यसैले यो संयन्त्र परिचालनको क्षेत्र र प्रकृति बदलिएको छ ।

स्रोत परिचालन हिजो पनि महत्वपूर्ण शक्ति थियो, अब झनै महत्वपूर्ण भएको छ । तर, स्रोतको स्वरूप र परिचालन शैली भने फेरिएको छ । हिजो आन्तरिक राजस्व परिचालनमार्फत शक्ति आर्जन गरिन्थ्यो, अब पुँजी, प्रविधि, सूचना तथा ज्ञानसम्म यसको विस्तार भएको छ । यो शक्तिले अन्य शक्तिसँग अन्तरसम्बन्ध कायम गर्छ । त्यसैले कर उठाउने र खर्च गर्ने साँघुरो दायरामा स्रोत परिचालन शक्ति सीमित छैन । बाह्य तथा आन्तरिक साधन परिचालन र पुँजी, प्रविधि तथा ज्ञान निर्माण–उपयोग गरेर राज्य या राष्ट्रहरू शक्तिवान् बन्ने गर्छन् । तथ्य तथा जानकारीले स्रोतको रूप लिएको छ । स्रोत मूर्तबाट अमूर्त पनि बन्दै छ । भूूगोलको सीमा पनि काट्दै छ । बहुआयामिक स्रोत परिचालन गर्दै सामूहिक फाइदा लिँदै समृद्धिको मार्ग पहिल्याउन थालेको छ । स्रोतको साझेदारी, सूचनाको साझेदारी र समझको साझेदारीले सामूहिक शक्ति आर्जन गर्ने अभियानमा राज्य गतिशील छन् ।

बाह्य वा कूटनीति राज्यको मान्यता, पहिचान र सहयोग परिचालनमार्फत भाइचारा विकासको परम्परागत शक्ति थियो । कूटनीतिक शक्तिले रक्षा र प्रतिरक्षालाई पनि सघाउँथ्यो । यो शक्तिको पनि संरचना र स्वरूप फेरिएको छ । कूटनीति अमूर्त र व्यापक हुँदै छ । कूटनीति आफैँ नरम शक्ति हो, अब यो अरू नरम बन्दै अमूर्त र आयामिक बनेको छ । देश–देशबिचको सम्बन्ध विस्तार गर्ने आयाम विस्तार भएर समाज, संस्कृति, आर्थिक र वातावरणीय क्षेत्रमा फैलिएको छ । कूटनीति परिचालनको माध्यम राज्यको औपचारिक संचनाबाट अनौपचारिक हुँदै जनस्तरसम्म पुुगेको छ । जनस्तरको कूटनीति, डायस्पोराको कूटनीति, सामाजिक सम्बन्ध र सञ्जालको कूटनीति, कार्यमञ्च र अनेकन मानवीय क्रियाकलापले कूटनीतिलाई वास्तविक शक्तिमा उकालेको छ । कूटनीति राजनीतिक र रणनीतिक सीमा काटेर पहिचान, सम्बन्ध, आबद्धताका दृश्य–अदृश्य स्वरूपमा पुगेको छ ।

राष्ट्रराज्य मात्र बलियो बनाउने हेतुमा कूटनीति छैन, सहस्वार्थ, सामूहिक पहिचान, सामाजिक पुँजी निर्माण र साझा शत्रुु (ग्लोबल ब्याड्स) निर्मूल गर्दै साझा समाधान (ग्लोबल गुड्स) संस्थागत गर्ने काममा कूटनीति परिचालित छ । ‘एकको चुनौती सबैको चुनौती’लाई यसले आफ्नो आदर्श बनाएको छ । त्यसैले एक्काइसाैँ शताब्दीले विभागीय कूटनीतिलाई गौण र गतावधिक मान्दै जनस्तरको बहुआयामिक कूटनीति निर्माण गरी राज्यलाई गतिशील बन्न घचघच्याएको छ । अब विभागीय र परम्परागत कूटनीति गर्नेहरू समयको बहावसँगै पाखा लाग्नेछन् ।

नागरिक सम्बन्ध र सहकार्य शासन गर्ने शक्ति आर्जन अर्को विधि हो । परम्परागत राज्यले नागरिकमाथि शासन गर्थ्यो, प्रशासन, सुरक्षा संयन्त्र र कानुन शासनका हतियार थिए । त्यतिवेला पेलाहा शक्तिले शासन गर्थ्यो, शासन ‘सासना’ थियो । आधुनिक समाजमा शासन सेवामा बदलिएको छ । राज्यका अंग, संयन्त्र नागरिक सेवाका लागि संरचित हुन्, न कि सासनाका लागि । नागरिक सेवा, सहयोग र सशक्तीकरण गर्न राज्य संयन्त्र अभिमुुख छ । नागरिकको विश्वास जित्न नसक्ने राज्यसत्ता रित्ता ठहरिन्छन् र बाहिरबाट जति नै शक्तिशाली देखिए पनि नागरिकले विश्वास नगरेका खोक्रा राज्य कुनै पनि समयमा गल्र्यामगुर्लुम ढल्न सक्छन् । हिजो शोभियत संघ ढलेथ्यो, अहिले म्यानमार र उत्तरकोरियाहरू नागरिक विश्वासमा रित्ता भएका छन् । सर्वसाधारणले अन्तरबोध नगरेसम्म राष्ट्रराज्य बन्न सक्दैनन् । आधुनिक राज्य नागरिक स्वतन्त्रताको संवर्द्धक र संरक्षक हो । नागरिकको जीवन, स्वतन्त्रता, स्वाभिमान र सम्भावनाको संरक्षण राज्यले गर्नुपर्छ । राज्य र नागरिकबिचका सम्बन्ध जति हार्दिक हुन्छन्, त्यसैको सापेक्षमा राज्यले नागरिकमाथि शासन (सेवा) गर्ने शक्ति आर्जन गर्छ । आफ्नो संस्था राज्यप्रति नागरिकले अपनत्व नलिए राज्यले शासन गर्ने शक्ति गुमाउँछ । श्रीलंका र बंगलादेशले त्यो शक्ति गुमाए र पुनः जनविश्वास आर्जन गर्न लागिपरेका छन् । म्यानमार र पाकिस्तानमा त्यो शक्ति गुमेर नागरिक सासनामा छन् ।

क्रियाशील राज्य आफ्ना कार्यसम्पदनमार्फत शक्ति आर्जनको प्रक्रियामा निरन्तर लागिरहेका हुन्छन् । राज्यको कार्यसम्पादन उपलब्धि विस्तार गर्दै जाँदा सर्वसाधारणबाट भरोसा र विश्वास आर्जन गर्छन् र यसले शक्ति दिने गर्छ । राज्य सञ्चालन संरचनाका सञ्चालकको व्यावसायिकता, निष्ठा र इमानदारीमा राज्यले थप शक्ति आर्जन गर्छ । राज्य संयन्त्रको क्रियाशीलता, जनताप्रतिको समर्पण र निष्पक्षताले नागरिक तहमा गर्वभाव पैदा हुन्छ । कुनै पनि मुलुकका नागरिकले आफू त्यहाँका नागरिक हुनुुको गर्वभाव राख्न थालेपछि राज्यले शासन गर्ने शक्ति पाएको स्पष्ट हुन्छ । नागरिक तहमा गर्वभाव पैदा गर्नु राजनीतिक कार्यकारीको पहिलो र अन्तिम दायित्व हो । त्यसैले, दैनिकी धानेर राज्य सञ्चालन गर्ने दह्रिलो शक्ति प्राप्त हुँदैन । 

राज्य सञ्चालन गर्ने शक्ति कसरी दह्रिलो बनाउने भन्ने चिन्तामा राजनेताहरू हुनुपर्छ । ओहोदा, औपचारिकता र कानुनले मात्र शासन गर्ने शक्ति प्राप्त हुँदैन भन्ने बुुझाइ कुशल नेतृत्वमा विकास भएको छ । सामाजिक वास्तविकतासँग चनाखो रहने, नागरिक सम्बन्धका सबै आयाम मजबुत बनाउने, नतिजामार्फत नागरिक विश्वास जित्ने र जवाफदेहिताको खरो परीक्षणमा पलपल परीक्षित हुने सामथ्र्यले मात्र शासन गर्ने शक्ति आर्जन हुन्छ । 

 

सुझावित समाचार