प्रतिनिधि सभामा सदस्य सुनिलकुमार शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लामो समयदेखि प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानले गम्भीर शंका उत्पन्न गरेको बताएका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै लामिछानेलाई लामो समयदेखि राज्य नियन्त्रित प्रहरी हिरासतमा राखेर भइरहेको अनुसन्धानप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘कुनै पनि व्यक्तिलाई अनुसन्धानको नाममा अनावश्यक धरपकड गर्ने, बिरामी हुँदा पनि अस्पताल जान नदिने, उपचार पाउने नागरिक अधिकारमा बन्देज लगाउने र मानसिक तनाव दिने जस्ता कार्य स्वीकार्य हुन सक्दैन् । प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको गृहमन्त्रीकै कार्यकालमा यस्तो तानाशाही व्यवहार हुनु दुर्भाग्यपूर्ण छ । अनुसन्धानलाई निष्पक्ष र छिटो सम्पन्न गरी न्यायालयमार्फत न्यायिक प्रक्रिया अघि बढाउनुपर्छ ।’
उनले न्यायालयको निर्णयलाई सबै पक्षले स्वीकार गर्नुपर्नेमा प्रहरी हिरासतको लम्बिँदो श्रृङ्खलाले गम्भीर शंका उत्पन्न गरेको जनाएका छन् । उनले लेखेका छन्–यस्तो स्थितिले राज्यप्रतिको विश्वास खस्काउन सक्छ, जुन लोकतान्त्रिक मूल्य मान्यताका लागि हानिकारक छ । यस कारण यस विषयलाई शीघ्र अदालती प्रक्रियामा लगेर समाधान गर्न म सम्बन्धित निकायलाई आग्रह गर्दछु ।
