वीरगन्ज भन्सारको विस्तारित सेवा पुसदेखि

शुक्रबार, २१ मंसिर, २०८१
डिजिटल संस्करण

वीरगन्जका दुवै भन्सार कार्यालयले आगामी पुस १ गतेदेखि दैनिक थप दुई घण्टा भन्सारको सेवा विस्तार गर्ने भएका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पुस १ गतेदेखि वीरगन्ज भन्सारमा वस्तु तथा सामानको जाँचपास र यात्रुको जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय गरेको हो ।

पर्साका प्रजिअ अर्यालले भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दुई घण्टा थप सेवा विस्तार गर्न लागिएको जानकारी दिए । ‘भन्सार जाँचपासको प्रक्रिया अहिले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म मात्रै हुँदै आइरहेको थियो । यसले भन्सार जाँचपास गर्ने व्यवसायी र यात्रु दुवैलाई मर्का परेको गुनासो आएको थियो,’ उनले भने, ‘व्यापार सहजीकरणको बैठकले बिहान ५ बजेदेखि बेलुका ११ बजेसम्म भन्सारको सेवा विस्तारित गर्ने निर्णय गरेको छ ।’

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले थप दुई घण्टा विस्तारित समयमा बैंक, क्वारेन्टाइनलगायत सबै सेवा थप हुने जानकारी दिए । ‘यसले व्यापारी तथा यात्रु दुवैलाई सकारात्मक प्रभाव पार्ने अपेक्षा राखेका छौँ,’ उनले भने ।

वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले भन्सारको सेवा थप भएसँगै भन्सार जाँचपास गर्ने व्यापारी तथा व्यवसायीलाई सहज हुने बताए । उनका अनुसार वीरगन्ज भन्सार कार्यालयमातहत एकीकृत जाँचचौकी र सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालय छन् ।

सुझावित समाचार