आन्द्रेस गौसको शतक तथा दिनेश खरेलको अर्धशतकप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिगमा कीर्तिमानी जित निकालेको छ । तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा पोखराले लुम्बिनीलाई १० विकेटले हरायो । एनपिएलको ११ खेल सम्पन्न हुँदा पहिलोपटक दश विकेटको जित र शतक बनेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७१ रनको लक्ष्य प्रस्तुत गरेकाे थियाे।
प्रत्युत्तरमा पोखराले विना विकेट क्षतिमा १६.५ ओभरमा जित निकालेको हो । प्रतियोगितामा पोखराको यो पहिलो जित हो । पोखरा जनकपुरसँग सात विकेट तथा चितवनसँग ८७ रनको हारेको थियो । लुम्बिनीको यो लगातार दोस्रो हार हो । लुम्बिनी पहिलो खेलमा विराटनगर किंग्ससँग दुई विकेटले पराजित भएको थियो ।
पोखराका ओपनरद्वय आन्द्रेस गौस र दिनेश खरेलले कीर्तिमानी १७६ को साझेदारी गरे । पहिलो विकेटका लागि यो नै सबैभन्दा ठुलो साझेदारी हो । यसअघि जनकपुरका विदेशी खेलाडीहरू लाहिरु मिलान्था र हर्ष ठाकरले विराटनगर किंग्सविरुद्ध ११६ रनको साझेदारी गरेका थिए । दुईबिच २३ बलमा ५० रनको साझेदारी भएको थियो । ४९ बलमा एक सय रन बनाए । अमेरिकाबाट खेलिरहेका ३१ वर्षीय गौसले ५५ बलमा १२ चौका र पाँच छक्कासहित १०४ रन बनाएका हुन् । उनी कम बल (२०) मा ५० रन बनाउने पहिलो खेलाडी बनेका छन् ।
यसअघि दीपेन्द्रसिंहले विराटनगरविरुद्ध २३ बलमा अर्धशतक बनाएका थिए । दुई वर्षअघि भएको नवौँ राष्ट्रिय खेलकुद एनआरएनए टिमबाट खेलेका दिनेशले ४६ बलमा समान चार चौका र छक्कासहित ६१ रन बनाए । लुम्बिनीले पोखराविरुद्ध ६ बलर प्रयोग गरेको थियो । स्पिनर सूर्यकुमार तामाङ, रोहितकुमार पौडेल, दुर्गेश गुप्तासँगै साद विन जफर र रामोन सिमोन्ड्स । दीपेश अधिकारी विकेटविहीन रहे । यसअघि कप्तान रोहितले ५९ बलमा १० चौका र ४ छक्कासहित सर्वाधिक ९५ रन बनाए । प्रतियोगितामा उच्च रन बनाउने पहिलो खेलाडी बनेका उनी अन्तिम बलमा रनआउट भएका थिए ।
यसअघि रोहितले ३५ बलमा अर्धशतक बनाएका थिए । उनले विराटनगरसँग ४६ रन बनाएर आउट भएका थिए । र, उनी प्रतियोगितामा अर्धशतक बनाउने दशौँ खेलाडी पनि हुन् । यसअघि नेपालकै लोकेश बम, अनिलकुमार शाह, दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका थिए । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको बलियो साझेदारी गरेका थिए । रनआउट भएका टमले ३८ बलमा समान दुई चौका र छक्कासहित ४५ रन बनाए । ओपनर आसुतोष घिरैया र भारतलाई यू–१९ विश्वकप जिताएका ओपनर उन्मुक्त चन्द डकआउट भएका थिए । २.२ ओभरमा लुम्बिनीले १४ रन जोड्दा दुई विकेट गुमायो ।
६.१ ओभरमा ४६ रन बनाएँदा तेस्रो विकेटको रूपमा सन्दीप जोरा व्यक्तिगत १८ रन बनाएर आउट भए । पोखराका विपिन खत्रीले दुई तथा म्याट क्रिच्लीले एक विकेट हात पारे । चार ओभर बलिङ गरेका रेयमन रेइफर, आकाश चन्द र माइकल लेस्क तथा दुई ओभर बलिङ गरेका सागर ढकाल विकेटविहीन भए ।
आज नै भएको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ । शनिबार पहिलो खेल लुम्बिनी र सुदूरपश्चिम तथा दोस्रो खेल कर्णाली र विराटनगरबिच हुनेछ ।