चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले एनपिएलमा पहिलो जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३१ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा कर्णाली याक्सले एक बलअघि चार विकेट गुमाएर एनपिएलमा पहिलो जित पक्का गरेको हो ।
अन्तिम ओभरमा नाै रन चाहिएको अवस्थामा कर्णालीले जित निकाल्न सफल भयो । एक बलअघि चौका प्रहार गर्दै जिसन मक्सुदले दुई अंक दिलाए ।
प्रतियोगितामा कर्णाली याक्सको पहिलो दुई अंक हो । यसअघि टोली जनकपुरसँग आठ तथा काठमाडौंसँग तीन विकेटले पराजित भएको थियो । लगातार दोस्रो जितपछि चितवनको पहिलो हार हो । पाकिस्तानी चर्चित खेलाडी तनविर चम्किएपछि चितवनले पोखरालाई ८७ रन र काठमाडौंलाई पाँच विकेटले हराएको थियो ।
कर्णालीका लागि शिखर धवनले ४५ रन बनाएर आउट भए । ४१ बलमा चार चौका र एक छक्काप्रहार गरेका उनलाई इटनले आउट गराएका हुन् । धवनले दोस्रो खेलमा काठमाडौंविरुद्ध पुरा २० ओभर खेल्दै अविजित ७२ रन बनाएका थिए । पहिलो खेलमा जनकपुरविरुद्ध १४ रन बनाएका हुन् । भारतीय ३९ वर्षीय ब्याटरले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी–२० आई खेलेका छन् । भारतलाई एसिया कप र आइसिसी च्याम्पियन्स ट्रफी उपाधि जिताएका छन् भने आइपिएलको उपाधि हात पारेका छन् । उनी एनपिएल खेल्ने सबैभन्दा ठुलो नाम हुन् ।
तेस्रो खेलमा जित निकाल्ने क्रममा तेस्रो नम्बर क्रिजमा आएका चाडविक वाल्टनले १९ बलमा तीन छक्कासहित ३० रन बनाए । ओपनर देव खनालले ३४ बलमा समान एक चौका र छक्कासहित २५ रनको योगदान गरेका थिए । अोमानका जिसन मक्सुद १२ बनाएर अविजित रहे । यसअघि जनकपुरविरुद्ध डकआउट भएका उनी दोस्रो खेलमा १४ रनमा अविजित रहेका थिए । अर्जुन घर्ती ११ रनमा रनआउट भए । चितवनका कुशल मल्लले एक विकेट हात पारे । अघिल्ला दुई खेलमा आठ विकेट हात पारेका सोहेल तनविर तेस्रो खेलमा विकेट विहिन भए । उनले चार ओभरमा १८ रन खर्चिए ।
यसअघि चितवनको लागि इंग्ल्यान्डका अलराउन्डर रवि बोपराले ४० बलमा सात चौका र एक छक्कासहित अविजित सर्वाधिक ५९ रन बनाए । इंग्ल्ल्यान्डका ३९ वर्षीय खेलाडीले १७.१ ओभरमा सोमपाललाई चौका प्रहार गर्दै ५० रन पूरा गरेका थिए । उनको शतकसँगै चितवनले १११ रन बनाउँदा ६ विकेट गुमाएको थियो । उनी लगातार दोस्रो अर्धशतक बनाउने एनपिएलको पहिलो खेलाडी बनेका छन् । इंग्ल्यान्डका लागि १३ टेस्ट र १२० एकदिवसीय तथा ३८ टी–२० आई खेलेका पोखराविरुद्ध दोस्रो खेलमा ५१ रन बनाएका थिए ।
कप्तान कुशल मल्लले २७ बलमा २३ रन बनाएर आउट भए । विपिन रावलले ११ बनाएका हुन् । कर्णालीका कप्तान सोमपाल कामीले चितवनका २० वर्षीय ओपनर लक बेन्केनस्टेइनलाई बोल्ड गर्दै डकआउट गराएका थिए । अर्का ओपनर दीपक बोहरा आठ, नामिबियाका जान निकोल इटन नाै, सोहेल तनविर डआउट र अमर रौटेला नाै रन बनाए आउट भएका थिए । शरद भेषवाकर ६ रनमा अविजित रहे ।
नेपाल यू–१६ टिमबाट खेलिसकेका विपिन शर्माले चार ओभरमा २१ रन खर्चिँदै तीन विकेट लिए । ओमानका पूर्वकप्तान जिसन मक्सुदले दुई तथा सोमपाल कामी, नन्दन यादवले समान एक विकेट लिएका थिए । गुल्सन झा र युनिशविक्रम ठकुरी तथा पहिलो खेल खेलिरहेका अस्ट्रेलियाका विलियम बोसिस्टो विकेटविहीन भए । आजको दोस्रो खेलमा लुम्बिनी र पोखरा भिड्दै छन् ।