‘एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक’अन्तर्गत बागलुङ क्षेत्र नं. १ मा पर्ने बोक्से–सिगानाखण्डको स्तरोन्नति सकिएको छ । उक्त सडक स्तरोन्नतिसँगै कालोपत्रे गर्न अलकत्रा बिछ्याउन बाँकी छ । ०७९ साउन ३० गते ठेक्का सम्झौता भएको एक निर्वाचन क्षेत्र एक रणनीतिकअन्तर्गतको बागलुङ बजारबाट सिगाना हुँदै शान्तिपुर जोड्ने सडक कालोपत्रेको चरणमा पुगेको हो ।
समयमा भुक्तानी नपाउँदा अघिल्लो असारदेखि गत असारसम्म एक वर्ष निर्माण ठप्प भएको सडक अहिले कालोपत्रेका लागि ग्राभेल गरिएको छ । भौतिक पूर्वाधारको काम सकेको निर्माण व्यवसायीले भुक्तानी नपाउँदा निर्माणले गति लिन सकेको थिएन । पछिल्लो तीन महिनायता उक्त सडकको बागलुङ नगरपालिका– ८ वडा कार्यालयसम्म कालोपत्रेको तयारी गरिएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
सम्झौताअघि काम सक्ने गरी निर्माणले गति लिएको सडक भुक्तानीमा समस्या भएर रोकिए पनि अहिले कालोपत्रेको काम गर्ने तयारीका लागि ६ किलोमिटर ग्राभेल बिछ्याइसकिएको कार्यालयका प्रमुख हरि सुवेदीले जानकारी दिए। उनले सुरुमा सरकारले भुक्तानी दिन नसकेकाले एक वर्षसम्म निर्माणले गति लिन नसकेको स्वीकार गरे। प्रमुख सुवेदीका अनुसार उक्त सडकको १० किलाेमिटरमध्ये ६ किलाेमिटर कालोपत्रेका लागि तयारी भएको र अन्य चार किलाेमिटरमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छ ।
‘सुरुमा निर्माण व्यवसायीले अत्यन्तै छिटो काम गरेको थियो, पछि आर्थिक समस्याले भुक्तानी दिन नसक्दा काम रोकिएको थियो,’ उनले भने, ‘अहिले बोक्सेबाट वडा कार्यालयसम्म सबबेस र ग्राभेल बिछ्याएर कालोपत्रे गर्ने तयारी भएको छ । आगामी चैतसम्म कालोपत्रे सक्ने निर्माण व्यवसायीले कार्यसूची पेस गरेको छ ।’
चैतसम्म ६ किलाेमिटर सडक कालोपत्रे सक्ने तयारीका साथ निर्माणले अन्तिम रूप लिएको निर्माण व्यवसायी कर्ण बिल्डर्सका प्रमुख नवीन गुरुङले बताए। उनले सम्झौताअनुसार निर्धारित समयभित्र काम सक्ने गरी काम गरिए पनि भुक्तानी रोकिएपछि काम रोकिएको उल्लेख गरे।
सम्झौता अवधिभित्र ६ किलाेमिटर सडक कालोपत्रे गर्न अहिले धमाधम काम गरिरहेको बताउँदै बाँकी चार किलाेमिटरमा पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गुरुङले जानकारी दिए।
सडक निर्माण सुरु भएको पाँच महिनामा ४० प्रतिशत काम सम्पन्न भए पनि आर्थिक अभावले काम छोडेर निर्माण व्यवसायी हिँड्दा ढिलाइ भएको स्थानीय राजन जिसीले बताए। दश किलाेमिटर कालोपत्रे गर्न रु. २९ करोड ३७ लाख ८८ हजारमा ठेक्का सम्झौता भएको थियो । सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाला, ग्याबिन जाली हाल्ने, कल्भर्ट निर्माण, सबबेस तथा ६ किलाेमिटर सडकमा ग्राभेल बिछ्याउने, आधा दर्जन घुम्ती ढलानलगायत काम सम्पन्न भइसकेका छन् ।