आइपिएलको ब्रान्ड भ्यालु १२ अर्ब अमेरिकी डलर

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण

विश्वकै महँगो इन्डियन प्रिमियर लिग (आइपिएल)को ब्रान्ड भ्यालु १२ अर्ब अमेरिकी डलर पुगेको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले १७औँ संस्करणको खेलाडी अक्सनपछि आइपिएलको ब्रान्ड भ्यालु सार्वजनिक गरेको हो । गत वर्षको तुलनामा यसपटक १३ प्रतिशत ब्रान्ड भ्यालु बढेको बिसिसिआईले जनाएको छ । सन् २०२३ मा १०.९ अर्ब अमेरिकी डलर रहेको थियो । सन् २००९ मा आइपिएलको भ्यालु दुई अर्ब डलर रहेको थियो । 

सन् २००८ को पहिलो संस्करणमा ब्रान्ड भ्यालु सार्वजनिक भएको थिएन । त्यसयता आइपिएलको ब्रान्ड भ्यालु सार्वजनिक हुँदै आएको छ । ब्रान्ड फाइनान्स रिपोर्टअनुसार आइपिएलका चार फ्रेन्चाइज टोलीको ब्रान्ड भ्यालु सय मिलियन अमेरिकी डलरभन्दा माथि छ । चेन्नई सुपर किंग्स, मुम्बई इन्डियन्स, रोयल च्यालेन्जर्स बेंग्लोर र कोलकाता नाइट राइडर्सको ब्रान्ड भ्यालु सय मिलियन अमेरिकी डलर रहेको रिपोर्टमा उल्लेख छ । चेन्नईको १२२ मिलियन अमेरिकी डलर र मुम्बई इन्डियन्सको ११९ मिलियन अमेरिकी डलर रहेको छ । 

आइपिएलमा यी दुवै टोली सर्वाधिक सफल हुन् । यसपटक चेन्नईको ५२ प्रतिशत र मुम्बईको ३६ प्रतिशत ब्रान्ड भ्यालु वृद्धि भएको हो । राम्रा खेलाडी भएको, तर एकपटक पनि आइपिएल उपाधि उचाल्न नसकेको बेंग्लोरको ब्रान्ड भ्यालु ११७ मिलियन अमेरिकी डलर छ । गत वर्षको तुलनामा बेंग्लोरको ब्रान्ड भ्यालु ३८ प्रतिशतले वृद्धि भएको हो । यसैगरी, कोलकाता र सनराइजर्स हैदराबादका समान १०९ मिलियन अमेरिकी डलर ब्रान्ड भ्यालु रहेको छ ।

सबैभन्दा महँगो फ्रेन्चाइज लिग
आइपिएल संसारको सबैभन्दा महँगो फ्रेन्चाइज टी–२० लिग हो । आइपिएलबाहेक इंग्लिस प्रिमियर, स्पेनिस ला लिगा, बुन्डेस लिगा, सिरी ए र लिग वान फुटबलको ब्रान्ड भ्यालु अधिक रहेको छ । यी युरोपकै शीर्ष पाँच प्रिमियर लिगको समग्र ब्रान्ड भ्यालु ५५१ मिलियन अमेरिकी डलर रहेको छ । बुन्डेस लिगाको २९० मिलियन अमेरिकी डलर र इपिएलको ६७० मिलियन अमेरिकी डलर ब्रान्ड भ्यालु रहेको छ । 

‘आइपिएलले विश्वका अन्य फ्रेन्चाइज लिगलाई पछि पारेको छ, सम्भवतः यसले फुटबललाई समेत पछि पारेको छ,’ बिसिसिआईले जनाएको छ । आइपिएल चलिरहँदा विश्वभर एक अर्ब ३० करोड क्रिकेट समर्थकले हेर्ने गरेका छन् । ‘चेन्नई, मुम्बई, बेंग्लोर, राजस्थान र कोलकाताका समर्थक विश्वभर छन्, यसकारण पनि आइपिएल चलिरहँदा टेलिभिजनको भ्युअर्स बढेको हो,’ बिसिसिआईले भन्यो, ‘आइपिएलका फ्रेन्चाइज टोली सामाजिक कार्यमा पनि सक्रिय छन् ।’ आइपिएलको मार्केटिङ भारतमा मात्र सीमित छैन । युएई, साउदी अरेबिया, अमेरिका र अस्ट्रेलियामा समेत आइपिएलको मार्केटिङ हुने गर्छ । 

मुम्बई र चेन्नई सर्वाधिक सफल
आइपिएलमा मुम्बई र चेन्नई सर्वाधिक सफल टोली हुन् । यी दुवैले समान पाँचपटक ट्रफी उचालेका छन् । सन् २००८ को पहिलो संस्करणमा राजस्थानले उपाधि हात पारेको थियो । यसैगरी कोलाकता तीनपटकको च्याम्पियन हो । डेक्कन चाजर्स, गुजरात, हैदराबाद र राजस्थानले समान एकपटक आइपिएल ट्रफी जितेका छन् । चेन्नई सबैभन्दा बढी फाइनल खेल्ने टोली हो । चेन्नईले अहिलेसम्म १० फाइनल खेलेको छ । मुम्बईले ६ मध्ये पाँच फाइनल जितेको छ । स्पट फिक्सिङका कारण चेन्नई र राजस्थानमाथि कारबाही हुँदा सन् २०१६ र २०१७ को संस्करणमा खेल्न प्रतिबन्ध लगाइएको थियो । आइपिएलको डेब्यु संस्करणमै राजस्थान र गुजरातले मात्र उपाधि जितेका छन् । 

See More On

सुझावित समाचार