भरतपुर दिनभर तनावग्रस्त

बिहिबार, २० मंसिर, २०८१
डिजिटल संस्करण
भरतपुर दिनभर तनावग्रस्त

रास्वपाका कार्यकर्ता र समर्थक तितरबितर बनाउन अश्रुग्यास प्रहार गर्दै सुरक्षाकर्मी ।

सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबिच झडप, २९ घाइते

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबिचको झडपले भरतपुर बुधबार दिनभर तनावग्रस्त बन्यो । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यलयमा लैजाने क्रममा सुरु भएको झडप साँझसम्मै चल्यो । झडपका क्रममा प्रहरी र रास्वपाका कार्यकर्ता गरी २९ जना घाइते भएका छन् । 

रास्वपाले आफ्ना तीन दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको दाबी गरेको छ । प्रहरीले भने १६ प्रदर्शनकारी र १३ प्रहरी घाइते भएको जनाएको छ । लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालय चितवन लैजाने क्रममा उनको रिहाइको माग गर्दै कार्यकर्ता तथा समर्थकले जिल्ला प्रहरी कार्यालय चितवन र भरतपुर अस्पताल रोडमा प्रदर्शन गरेका थिए । 

सुरक्षाकर्मीले रास्वपाको प्रदर्शन तितरबितर पार्न ४९ सेल अश्रुग्यास प्रहार गरेको थियो । नेपाल प्रहरीले ४२ र सशस्त्र प्रहरीले सात सेल अश्रुग्यास प्रहार गरेका थिए । त्यस्तै, पानीको फोहोरा पनि हानिएको थियो । प्रहरीले प्रहार गरेको अश्रुग्यास र पानीको फोहोरा लागेर तीन दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको रास्वपाले जनाएको छ । 

सुरक्षाकर्मीको कुटाइबाट घाइते भएकामध्ये तीनजना घर फर्किएको रास्वपा चितवन जिल्ला सचिव विशाल कोइरालाले बताए । उनका अनुसार रास्वपा चितवनका सभापति कृष्ण भुसालको गालामा गम्भीर चोट लागेको छ । भरतपुर महानगरपालिका– १६ का सूर्यबहादुर न्यौपानेको टाउकोमा चोट लागेको छ । उनको सिएमसी अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनमा उत्रिएका रविका समर्थकलाई हटाउन खोज्दा झडप भएको थियो । प्रदर्शनकारीले हानेको इँटा र ढुंगा लागेर १३ प्रहरी घाइते भएको उनले बताए । घाइते प्रहरीको अवस्था सामान्य रहेको उनको भनाइ छ । प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको उनको दाबी छ । ‘प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुंगा हान्दा प्रहरी घाइते भएका हुन्,’ उनले भने । जिल्ला प्रहरी कार्यालयअगाडि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले बताए ।

रास्वपाले आफ्नो कार्यक्रम बिथोल्ने र हिंसात्मक बनाउने नियतले घुसपैठ भएको बताएको छ । पार्टी प्रवक्ता मनीष झाले बुधबार विज्ञप्ति जारी गर्दै चितवनमा भएको प्रदर्शनका क्रममा पार्टी सदस्यहरूबाट सञ्चारकर्मीमाथि कुटपिट भएको भनी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले लामिछानेलाई बयानका लागि मंगलबार काठमाडौंबाट चितवन ल्याएको हो । सहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको अनुसन्धानमा खुलेको छ । सरकारी वकिलको कार्यालयले  रविसँगको बयान बुधबार राति नै सकेको छ । बिहीबार पनि समर्थकहरुले प्रदर्शन गर्न सक्ने आकलनमा प्रहरीले बुधबार राती नै उनलाई पोखरा लगेको छ। 

See More On

सुझावित समाचार